के माग्छौ रे मेरा लागि मन्दिर गएर?
खै! के माग्नु ती बसेका हुन्छन् तस्वीर भएर।
बरु सोच्छु यदि म समय भएको भए
ठम्मिदिन्थे खुसिहरूमै तिम्रो तकदिर बनेर।
बिलाई दिन्थे तिम्रा गहिरा घाउ, मलम बनेर ।
लेखिदिन्थे सफलतामा तिम्रो नाउँ कलम बनेर।
अझै सोच्छु तिमी चाहन्छौ भने, तिम्लाई
बग्नदिन्थे नदिसरी पर्खिन्थे म बगर बनेर।
तिम्रा लागि उमङ्गका शाखा बनिदिन्थे।
मनपर्ने फूलहरूको पाखा बनिदिन्थे ।
यदि कहिँ तिमी चौबाटोमा अल्झिँदा,
तिम्रो गन्तव्य देखाउने आँखा बनिदिन्थे।
मागेर मिल्ने भए त्यही दानी मागिदिन्थे।
बाढेर सकिने भए यी कहानी बाढिदिन्थे ।
यदि अलिकति सामर्थ्य बेसी हुन्थ्यो भने,
तिम्रो हातमा मेरो परानी राखिदिन्थे।
बाच्न नदिने मनको डर तोडिदिन्थे ।
बाध्यताले नरुवाउने घर खोजिदिन्थे।
यदि कोरिएका यी शब्द यर्थात हुने भए।
मेरो नाउ पछाडि तिम्रो थर कोरिदिन्थे।
बबिता कार्की
कञ्चनपुर