हार्नेमा पनि ढुक्क छैन अहिल्यै जो खेल खेल्दै छु म
जित्नेमा पनि आस छैन दरिलो जो दु:ख झेल्दै छु म ।
आफैँ बुझ्छु, छ के बुझाउनु भने मैले सबै सक्दिनँ
दिन्छन् ढाडस जो सलाम तिनमा “यस्तो तँ भन्छस् किन?”
हाँस्ने ध्यान चल्यो कुनै समयमा हाँसो थियोे सम्झिनू
ठट्टा गर्न पुगेँ निका र ननिका दुख्ने सबै बिर्सनू ।
फर्की कष्ट हुने कुरा नगरिऊन् सम्बन्ध भाँच्यो भनी
मेरो नाम र देह प्रश्न उठून् बाँचे नबाँचे पनि ।।
सक्थेँ जे म जहाँ उसै किसिमको मैले गरेँ मद्दत
जानेसम्म न ता बिगार गरियो च्यात्दै कसैका मत ।
खाएको पनि छैन याद सुखले मैले निकाली रिन
पानी टम्म पिई भरेँ उदर यो भोकै बसेका दिन ।।
चढ्दो याैवन वा किशोर वयमा आँखा कसै लाइनँ
आफ्ना बुझ्छु सबै दिदी र बहिनी गाली र पो पाइनँ ।
लेखेँ जे जति लेख, काव्य-रचना ठानी मनोरञ्जन
बुझ्नेले जति बुझ्दथे बुझिरहे मेरो छ आफ्नै पन ।।
झूटो बोल्नु महा छ पाप बुझियो यो काव्ययात्राभरि
मेरै कारणबाट सुन्न नपर्यो रोइन् इजू धर्ररी ।
आफ्नो स्वार्थ निकाल्न अन्य जनका देखाउँदै तस्बिर
हिँड्ने काम भएन, गर्नु परिए झुक्थ्यो स्वयंको शिर ।।
साथीबाट निराश बन्न नसकी जम्मै गरेँ सङ्गत
सिक्ने ध्यान गएन क्यै कुलत-मै गर्ला भनी हुर्मत ।
विद्यार्थी म छँदा हिसाब घरले जस्तो दियो लाइयो
खुट्टामा घरकै म निर्भर छँदा जस्तो दियो खाइयो ।।
मेरै हुन् घटना यथार्थ सब यी मिल्दा अरूमा पनि
बुझ्दा हुन्छ मसाथ ठिक्क यसको संयोग हो यो भनी ।
लेखी आज सबै समर्पण गरेँ यो जिन्दगीका कुरा
चाहेको पनि हुन्न रै’छ भइए लेख्लान् अझै पाखुरा ।।
छन्द : शार्दूलविक्रीडित
✍️ प्रेमप्रकाश कलाैनी/प्रेम काइँला
शिवनाथ-२ पाैखर,बैतडी