कञ्चनपुर । साइकलयात्री भरत विक्रम शाह (फार्वेस्टर्न राइडर) सम्मानित भएका छन्। साइकलयात्री शाहलाई सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८१ कार्यक्रममा सम्मान गरिएको हो। शाहलाई ‘पर्यटन प्रवर्द्धन सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ।
साइकलयात्री शाह विगत एक दशकदेखि सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा खटिएका युवा हुन्। साइकलयात्री शाहलाई फार्वेस्टर्न राइडर नामले पनि चिनिने गरिन्छ। सम्मानित भएका साइकलयात्री शाहले सम्मानले थप हौसला प्रदान भएको बताएका छन्।
कैलालीको गोदावरी नगरपालिकाका स्थानीय शाह धनगढीबाटै साइकलमा खप्तड, डडेल्धुराको आलिताल, डोटीको बडिकेदार, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा लगायत थुप्रै ठाउँमा धेरै पटक पुगेका छन् । उनी साइकलमा जहाँ पुग्छन् । त्यहाँको विशेषता सहितको जानकारीमूलक फोटो भिडियोहरू सञ्जालमा हालेर अरुलाई पनि त्यहाँ पुग्न उक्साउँछन् ।
उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरू पनि थुप्रै भएका कारण उनी पुगेको गन्तव्य एकाएक चर्चामा आउँछ । साइकल यात्रा थालेको ११ वर्षको अवधिमा शाहले देशभित्रका मात्रै नभएर भारत, अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा लगायत विभिन्न देशका दुई सयभन्दा बढी साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसकेका छन् ।