कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी एमाले वेदकोट नगर कमिटी पार्टी कार्यालयको उद्घाटन गरिएको छ । शनिबार नेकपा एमाले कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज निवर्तमान सङ्घीय सांसद तथा पार्टीका केन्द्रीय सदस्य नरबहादुर धामीले कार्यालयको उद्घाटन गरेका हुन्। वेदकोट नगर कमिटीले शनिबार सामादैजी चोकमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि इन्चार्ज धामीले नगर कमिटीको कार्यालयले पार्टीका कामलाई व्यवस्थित र प्रभावकारी बनाउने बताए । पार्टी कार्यालय उद्घाटन गरिएकोमा नगर कमिटीलाई धन्यवाद दिँदै इन्चार्ज धामीले आगामी निर्वाचनमा एमालेलाई कुनै पनि तागतले हराउन नसक्ने गरी सबल र सक्षम बनाउन सबैको अमूल्य सहयोग पाइने विश्वास व्यक्त गरेका छन् ।
नगर कमिटी अध्यक्ष हरि गिरीको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य कृपाराम राना, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकरदत्त जोशी, प्रदेश कमिटी सदस्य पार्वती जोशी, जिल्ला कमिटी उपसचिव अशोक चन्द, पालिका इन्चार्ज सुशीला सिंह लगायत नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।