कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री ओम बिक्रम भाट (सरल) ले बेसहारा नागरिकको जिम्मा राज्यले लिने बताएका छन् । बुधबारदेखि महेन्द्रनगरमा शुरु भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको विशेष तथा १० औँ अधिवेशन उद्घाटन गर्दै मन्त्री भाटले बेसहारा नागरिकको समाजिक सुरक्षा राज्यले लिने बताएका हुन ।
‘जसले हामीलाई जन्म दिएर यहाँसम्म संसार देखायो, तिनै ज्येष्ठ नागरिक अभिभावक आज विविध कारणले बेसहारा बन्न पुगेका छन्, तिनीहरूको भरण पोषण राज्यले गर्नुपर्छ, ‘मन्त्री भाटले भने, ‘जसको कोही हुँदैन, उसका लागि राज्य छन्, तीनै सरकार छन्, सुप प्रदेश सरकारले बेसहारा नागरिकको जीवन भरणका लागि जिम्मा लिन तयार छ ।’ मन्त्री भाटले पछिल्ला समयमा नेपाली समाजमा अभिभावक सन्तान घरबाटै अपहेलित भएको अवस्थामा त्यस्ता समाजिक विकृति समेत न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भाटले हुनेखाने घरपरिवारबाटै ज्येष्ठ नागरिक अपहेलित भएकाले त्यस्ता नागरिकलाई राज्यले व्यवस्थापन गर्न समस्या उत्पन्न गराएको बताए । ज्येष्ठ नागरिकको समाजिक सुरक्षाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा केही कार्यक्रम ल्याएको समेत बताए । मन्त्री भाटले ज्येष्ठ नागरिकप्रतिको सन्तानको कर्तव्य बोधका लागि विद्यालय स्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।
‘अहिलेका बालबालिका अभिभावक भन्दा मोबाइल प्रविधितर्फ केन्द्रित छन्, ‘उनले भने, ‘उनीहरूलाई पारिवारिक सद्भाव बारे कर्तव्यबोध गराइएको छैन, जसका कारण पनि परिवारमा बिखण्डन, सद्भाव अभावले ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको छ, यस समस्याको समाधानका लागि समाजिक सचेतना आवश्यक छ ।’
प्रदेश सरकारले समाजिक सद्भावका लागि ज्येष्ठ नागरिक, असहायप्रतिको आपसी भाइचाराको भावना जागृत गराउन र स्वदेशमै रोजगारीका लागि १० हजार किशोर, किशोरी, युवाहरूलाई आत्मनिर्भर तालिम दिने बताए । ‘अबका बालबालिकालाई स्वदेशी माटोप्रति सद्भाव जगाउन हामीले केही न केही कार्यक्रम ल्याउनुपर्ने देखिएको छ, ‘मन्त्री भाटले यसतर्फ सबै सरोकारवाला सोच्नुपर्ने बेला आयो, हामीले प्रदेश सरकार मार्फत त्यसतर्फ सोच्छौँ, त्यसैगरी अन्य सरकार समुदाय हरेक व्यक्तिले ज्येष्ठ नागरिकको समाज विकासमा भूमिका कदर गर्दै सम्मान गरे ज्येष्ठ नागरिक अपहेलित हुनुपर्ने अवस्थाबाट मुक्त हुनेछन ।’









Discussion about this post