कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन ७ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो।
बिहीबार वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्ट, वेदकोट नगर कार्यपालिका सदस्य पार्वती बिष्ट र वडा समितिका पदाधीकारी लगायतले उनीहरूलाई साइकल वितरण गरेका हुन्।
वडा अध्यक्ष बिष्टले स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए। उनले भने ‘उहाँहरू स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिनुहुन्छ, तसर्थ स्वास्थ्य सेवा प्रवाहमा सजिलो होस् र घरघरमा पुग्न सहज होस् भनी साइकल वितरण गरेका हौँ।’