कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ३ भम्कामा रहेको श्री अरनिको इंग्लिस सेकेन्डरी स्कुलको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवम् वेदकोट ३ का वडा अध्यक्ष मोहन गुर्धामीको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर उपप्रमुख जोशीले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयलाई नगरबाट हुने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गरेकी छन्।

त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक देवराज जोशीले विद्यालय र विद्यार्थीको समग्र विकासमा अहोरात्र खटिएको बताए। उनले भने ‘हामी हाम्रो विद्यालय र विद्यालयमा पढ्ने विद्यार्थीको समग्र विकासका लागि अहोरात्र खटिएका छौँ।’ विद्यार्थी परीक्षामा उत्तीर्ण मात्र हैन समाजमा दक्ष जनशक्तिका रुपमा प्रस्तुत गर्ने उद्देश्य विद्यालयले लिएको उनको भनाई रहेको छ। साथै गतवर्षको एसइइ परीक्षामा विद्यालयले शतप्रतिशत नतिजा निकालेको समेत उनले बताए।

विद्यालयका शिक्षक पुष्पराज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव रोश्याराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुवातमा मार्चपासको समेत आयोजनाका साथै विद्यालयका विद्यार्थीहरूले स्वस्तिक चिन्ह समेत निर्माण गरेका थिए।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएका थिए भने विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलाप तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ।

वेदकोट ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहरा, एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशी र प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा विद्यार्थी शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, पत्रकार लगायतको भव्य उपस्थिति रहेको थियो।














Discussion about this post