सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ऋर्षिपञ्चमी महाकाली नदीमा श्रद्धालुको घुईचो

पुष्कर भट्ट/कञ्चनपुर: हिन्दु महिलाको हरितालिका (तिज) पर्वको औपचारिक रुपमा समापन गरिएको छ । हरेक बर्ष भाद्रशुक्ल पक्षको तेस्रो तिथिबाट शुरु भई पञ्चमी तिथिका दिन औपचारिक रुपमा समापन गरिन्छ । नेपाली महिलाले परम्परागत रुपमा मनाउँदै आएको तिज मंगलबार महाकाली नदीमा गएर समापन गरेका छन ।

आचार्य घनश्याम लेखकले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाईएको बताए । आचार्य लेखकका अनुसार हरेक वर्ष भाद्र शुक्लपञ्चमीका दिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दै आएका छन । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलनललाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । आचार्य लेखकले सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएकोे बताए ।

महिलामा रजस्वलाका समयमा कुनै त्रृटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन अनुरुप महिलाले उत्तम पती एव सन्तान पाउने मान्यता अनुरुप मनाउदै आएका छन ।

कञ्चनपुरको महाकाली सहितका नजिकका खोला नदीमा गएर तिजको बिसर्जन गरिएको छ । जिल्लाको महाकाली नदीमा तिज समापन गर्ने महिलाको घुईचो लागेको छ । महाकाली नदीमा तिज बिर्सजन गर्न आएका महिला श्रद्धालुहरुले परम्परागत लोक संस्कृतिको संरक्षणका साथै पति एव सन्तान घर परिवारको सुरक्षाका लागि आएको बताएका छन । मानिसको मृत्यु भए सदगत गर्नका लागि पुरुष मात्रै महाकाली नदि जाने गरेको भएपनि यस पर्वमा महिलाको घुईचोले धार्मिक पर्यटनको सम्भावना देखिएको जानकारहरु बताउँछन । महाकाली परमधाम अन्त्येष्टी घाट समितिका उपाध्यक्ष पकज रावलले महाकाली नदी धार्मिक दृष्ट्रिकोणबाट महत्वपुर्ण भएकाले स्थानीय सरकारले धार्मिक क्षेत्र बनाउनुपर्ने बताए । ‘महाकाली नदीमा हरेक बर्ष ऋर्षि पञ्चमीमा श्रद्धालु महिलाको घुईचो लाग्दै आएको छ, ‘उनले भने, ‘यसमा स्थानीय सरकारले विशेष ध्यान दिए धार्मिक रुपमा पुजा आजाका लागि स्थल बनाउनुपर्छ ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.