मोटोपन कसरी घटाउने ? यसको चल्तापूर्जा सूत्र हो, खानेकुरामा कटौती ।
आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । तर मोटोपन घटाउने वैज्ञानिक तरिका होइन यो ।
मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ । त्यसैले खानामा भएको क्यालोरीको मात्रा घटाउने हो, पोषक तत्व होइन । जब हामी खानेकुराको मात्रा घटाउन थाल्छौं, पोषक तत्व पनि कम हुन्छ । यसले गर्दा शरीरको बोसो घट्दैन बरु मांसपेशी र शरीरको पानी घट्न थाल्छ । जुन एकदमै हानिकारक हुन्छ । किनभने घट्नुपर्ने त बोसो मात्र हो ।
हाम्रो उमेर, शरीर, जीवनशैली अनुसार कति क्यालोरी लिने भन्ने कुरा तय गर्न सकिन्छ । यदि क्यालोरीको सन्तुलन मिलाएर खान सकेमा शरीरमा बोसो बढ्ने कुरै हुँदैन ।
टन्नै खाने
भरपेट खाएरै मोटोपन घटाउने हो । यसमा जान्नुपर्ने कुरा यति मात्र हो कि कुन खानेकुरा पोषक तत्वले भरिपूर्ण छ । किनभने हामीलाई पोषकतत्वले भरपुर खानेकुरा जरुरी हुन्छ । शरीरलाई जरुरी पोषक तत्व एकै किसिमको खानाबाट मात्र पनि प्राप्त हुँदैन । त्यसैले खानामा विविधता हुनुपर्छ ।
के खाने ?
शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ । रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन । टन्नै सागपात, गेडागुडी खानुपर्छ । आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ । गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ । चामल, आलु, माछामासु पनि भरपेट खाए हुन्छ । यी खानेकुराले मोटोपन बढ्दैन ।
मोटोपन घटाउन भोको पेट वा आधा पेट बस्नु पर्दैन । उच्च क्यालोरी भएको खानेकुरा नखाए हुन्छ । बजारमा पाइने प्रशोधित खानेकुरा चाउचाउ, विस्कुट, चिप्स, कोकाकोला, पेप्सी आदि चाहिं उच्च क्यालोरीयुक्त खानेकुरा हुन् । यस्ता खानेकुराबाट शरीरलाई जरुरी पोषक तत्व प्राप्त हुँदैन ।
कसरी खाने ?
लामो समय भोकै बसेर एकै पटक धेरै खाने तरिका उचित हुँदैन । पटक–पटक थोरै थोरै खानेकुरा खाँदा पचाउन सहज हुन्छ ।
उच्च क्यालोरी भएको र बोसोयुक्त खानेकुरा सजिलै पचाउँदैन । सबैभन्दा छिटो कार्बोहाइड्रेटयुक्त खानेकुरा पच्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा पचाउन सजिलो हुन्छ । यस्ता खानेकुरा खाँदा शरीरमा बोसो जम्दैन ।
चामल, आलुले तौल बढ्दैन
मोटोपन घटाउनेहरुले चामल, आलु छुनै हुन्न भन्ने गरेको पनि पाइन्छ । यो भ्रम हो । आलु र चामल कार्बोहाइड्रेटको राम्रो स्रोत हो, जुन शरीरका लागि जरुरी हुन्छ ।
कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्दा मोटोपन नियन्त्रण हुन्छ भन्ने गलत धारणा छ । ताजा, मौसमी र हामीले परम्परादेखि खाँदै आएको खानेकुरा सबै खानुपर्छ । यद्यपि हरेक खानेकुुराको मात्रा हुन्छ, सही मात्रामा खानुपर्छ । नेपालीमा भनाइ छ– धेरै खायो भने अमृत पनि विष हुन्छ । चिनी पनि तीतो हुन्छ ।
कस्तो खानेकुरा चटक्कै छाड्दा हुन्छ ?
चामल, आलु, माछामासु, अण्डा, सागसब्जी, गेडागुडी, फर्सी, काँक्रो, सिमी, गोलभेंडा, दही, मोही, दूध, घिउ जस्ता खानेकुरा छाड्नै पर्दैन । यदि आफूलाई रुच्छ र खान पनि मन लाग्छ भने खाँदा हुन्छ । तर जिब्रोलाई मात्र लोभ्याउने जंकफुड, कोल्ड ड्रिंक भने पूर्ण रुपले त्याग्दा हुन्छ । अनलाइनखबर बाट सभार