
कञ्चनपुर,पुस । कञ्चनपुरको वेदकोट नगरपालिकाको १२औँ नगर सभा तथा हिउँदे अधिवेशनमा पेस गरिएका चार वटा ऐनहरूमाथि दफावार छलफल गरी नगर सभा सम्पन्न गरिएको छ । सोमबार आयोजित नगर सभा तथा हिउँदे अधिवेशनमा विधायन समितिका संयोजक पवन नेपालीले स्थानीय स्वास्थ्य सेवा ऐन २०७९, स्थानीय संघसंस्था दर्ता तथा नियमन ऐन २०७९, वेदकोट बहुप्राविधिक शिक्षालय सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ र नगर प्रहरी ऐन २०७९ दफावार छलफलका लागि सभामा पेस गर्नु भएको थियो ।

उक्त ऐनहरूमा आवश्यक सुझावहरू सङ्कलन गरी पारित गर्ने अधिकार भने कार्यपालिकालाई दिइएको छ । ऐनहरूको आवश्यक अध्ययनका लागि सबै सदस्यहरूलाई उपलब्ध गराइएको र सदस्यहरूबाट आउने सुझावहरूलाई समेत सम्बोधन गरी नगर कार्यपालिकाको बैठकबाट ऐनहरू पारित गरिने नगर सभाध्यक्ष तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले जानकारी दिनुभयो ।
सभामा वेदकोट नगरपालिकाको समग्र विकासका लागि आवश्यक योजनाहरूका बारेमा र हालसम्मको कार्य प्रगतिका सन्दर्भमा समेत समीक्षात्मक छलफल भएको बताइएको छ ।

