

अत्यधिक चिसोका कारण मधेस प्रदेशका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसोका कारण विद्यार्थीहरू बिरामी हुन थालेपछि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा बिदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले पनि तीन दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मङ्गलवार एक सूचना जारी गरी भोलि २० गते बुधवारदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा बिदा दिएको जानकारी दिनुभएको हो ।


यस्तै जाडो बढेपछि महोत्तरीका पालिकाले पनि धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । महोत्तरीका नौ वटा पालिकाले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको विद्यालय बिदा सूचना जारी गरेका हुन् । महोत्तरीका ११ पालिकाले जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।
सुजीत झा ले उज्यालो अनलाइनमा लेखेका छन्।
