हाल देशमा जाडो मौसम सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्य आइसकेको र ‘विन्टर’ पनि सुरु हुने क्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । ’चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन’, मौसमविद् श्रेष्ठले भने।
नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौं उपत्यकामा बिहानीपख हल्का हुस्सु–कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एकदेखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । भोलि मङ्सिर १४ गते पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post