बैतडी– जिल्लामा महाशिवरात्रि पर्वलाई लक्ष गर्दै बजार अनुगमन थालिएको छ। जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला संयुक्तरुपमा नियमित अनुगमन गर्दै आएको छ। यसअघि दसैँतिहारका बेलामा पनि अनुगमन गरिएको थियो।
महाशिवरात्रिको मेला लाग्ने क्षेत्रलाई प्राथमिकता दिएर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। पहिलो चरणमा जिल्लाको डिलासैनी गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ। उक्त गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रिका अवसरमा मेला लाग्ने भएकाले बजार अनुगमन गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा अखाद्य सामग्री राखेर बिक्रीवितरण गरिरहेका आठ पसलेमध्ये चारजनालाई १० हजारका दरले र चार जनालाई पाँच हजारका दरले जरिवाना गरिनाका साथै २३ हजार ९१५ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको थियो। यसैगरी मूल्यसूची नराखेका पसलेलाई मूल्यसूची राख्न पनि आग्रह गरिएको थियो।
चाडपर्वका बेला कालोबजारी हुने र म्याद नाघेका सामग्री बढी बिक्रीवितरण हुने भएकाले बजार अनुगम थालिएको सूचना अधिकारी भारतीले बताए। उनले भने, “हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौँ, अहिले महाशिवरात्रिलाई लक्ष गरेर अनुगमन थालेका हौँ, अरू समयभन्दा चाडपर्वका बेला कालोबजारी र म्याद नाघेका सामग्री बिक्री हुने सम्भावना हुने भएकाले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएका छौँ।”
अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्यवस्तुको मिति र लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताए। यसअघि गौरा पर्व र दसैँतिहारका बेला गरिएको अनुगमनमा दुई लाख ५० हजार बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो। गोदावरी न्युज बाट सभार









Discussion about this post