आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा ९ मतदानस्थल थपिएका छन्। जिल्लाको पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा गरि ९ मतदानस्थल थपिएका हुन्।
मतदाता संख्या बढी भएको र भौगौलिक रुपमा टाढा रहेका ठाउँमा नयाँ मतदानस्थल थपिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए।जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिकामा २÷२ र मेलौली नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा १÷१ मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सिगास–६ को नौला आधारभूत विद्यालय बत्थी, सिगास–९ को निरपाल आधारभूत विद्यालय चुवा, पुर्चौंडी–२ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चाैडी–१० को गलेश्वर मावि कटपते, डिलाशैनी–५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी–७ को डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थपिएका हुन्।
यस्तै पाटन–१ को भुवनेश्वर मावि लदौली र पञ्चेश्वर–६ को आम्पुर मावि बिजुल, मेलौली–७ मा मणिलेक मावि केशरपुर पनि नयाँ मतदानस्थलका रुपमा थपिएको छ। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।
यसैबीच जिल्लाका दुई वटा मतदानस्थल सार्ने निर्णय पनि भएको छ। दोगडाकेदार गाउँपालिका–४ को हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थल पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीको मणिलेक माविको मतदानस्थल सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिश गरिएको हो।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनका वेला १ सय २० मतदानस्थल रहेकामा अब ९ वटा थपिएर १ सय २९ मतदानस्थल पुगेका छन्। बैतडीमा १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post