श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागेको बताएका छन्।
मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरूबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धतासमेत व्यक्त गरे।
नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरूको समस्या समाधान हुनेगरी सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताए।
त्यस अवसरमा मन्त्री श्रेष्ठले कर्मचारीहरूको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताए।
श्रेष्ठले भने,‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाइहरूसँग हातेमालो गर्नेछ। त्यस्तै संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले चाँडै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि पनि मन्त्रालय गम्भीर भएर लागि परेको छ।’ थाहा खबर बाट सभार









Discussion about this post