

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । करिब १२ करोडको लगानीमा महेन्द्रनगरमा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. खुल्न लागेको हो ।
फागुन पहिलो सातादेखि सेवा सुचारु गर्ने तयारी भइरहेकोे मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का सञ्चालकमध्येका एक डा. गोविन्द रोकायाले जानकारी दिए ।

‘भौतिक संरचना निर्माण सकिएर उपकरण जडान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘फागुन १ गतेदेखि सेवा सुचारु गर्ने तयारी गरेका छौँ ।’

अस्पताल सञ्चालनमा आए पछि सामान्य स्वास्थ्य सेवाका लागि समेत जिल्ला बाहिर अथवा भारततर्फ जानु पर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे ।

स्थानीय स्तरकै जनशक्ति उपयोग गरेर सञ्चालन गर्न लागिएको अस्पतालले यस क्षेत्रको स्वास्थ्य सेवालाई सुदृढ पार्न टेवा पु–याउने छ ।
अस्पतालमा फिजिसियन, रेडियोलोजी, हड्डी तथा नशा सम्बन्धी, २४ घण्टा इमेरजेन्सी, शल्यक्रिया, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, अल्ट्रासाउड, एसीजी, ल्याब सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
बैशाख पछि सिटीस्क्यान सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका सञ्चालक रोकायाले बताए । यस क्षेत्रका १० डाक्टर मिलेर मन्त्र अस्पताल सञ्चालन गर्न लागेका हुन । दैनिक सञ्चार बाट
