
पृष्ठभूमि :
मानसखण्ड क्षेत्र अन्तर्गत पर्ने नेपालको हालको सुदूरपश्चिम प्रदेश एक विशिष्ट पवित्र देवभूमि हो, देवादिदेव महादेव (शिव) भूमि हो । जसको प्रत्यक्ष साक्षीका रुपमा यस क्षेत्रका शिव–महादेवसँग जोडिएका धार्मिक, ऐतिहासिक, पुरातात्विक विषयवस्तुको अन्तर्य भित्रका पवित्रतम् धाम एवम् मठ–मन्दिरहरु रहेका पाइन्छन् । यस क्षेत्रको लोक मान्यता अनुसार पनि शिव नै सृष्टी, पालन र संहारकर्ता भएको कुरा देवगाथाहरुमा उल्लेख गरेको पाइन्छ ।

मानसखण्डका पवित्रतम् धाम अन्तर्गतको प्राकृतिक मनोरम सुन्दरताले भरिपूर्ण, धार्मिक आस्था र विश्वासको केन्द्र शान्त, रमणीय स्थल ग्वाल्लेक धुराधामको अलौकिक शक्ति अनुपम र अभेध्य मानिन्छ । सुदूर पश्चिमेली समाज साश्वत सत्यलाई अवलम्बन गर्दै ‘सत्यम् शिवम् सुन्दरम्’ को खोजीमा रहेको सनातन धर्मको वर्चश्व रहेको समाज हो । यो समाजले सुख दुःखमा उनै आराध्य देव शिवलाई नै सदा सर्वदा स्मरण गर्ने गरेको पाइन्छ । एवम् प्रकारले हिन्दूहरुका आराध्यदेव महादेवका असंख्य एवम् अभेध्य स्वरुपहरु मध्येको एक ग्वाल्लेक केदारलाई स्वात्विक अभेध्य स्वरुप मानिन्छ । पौराणिककालमा ‘खणदेउ केदार’ का रुपमा परिचित यस ग्वाल्लेक केदार धाम क्षेत्रलाई शिव पुराणमा ‘कालान्जर पर्वत’ का रुपमा वर्णन गरेको तथ्य विद्वान्हरुले उल्लेख गरेको पाइन्छ । तेह्रौ–चौधौं शताब्दी सम्म यस क्षेत्रमा कत्युरीहरुको शासन रहेको र यो पवित्र वनखण्ड कत्युरी राज्यको प्रमुख तीर्थस्थलको रुपमा रहेको तथा पण्डा पूजारी समेत कत्युरी ब्राह्मण नै भएको कुरा समेत वर्णन गरेको पाइन्छ । चौधौं–पन्ध्रौं शताब्दी पश्चात् मात्र यस धामको नाम ग्वाल्लेक धाम रहन गएको ब्यहोरा जानकारहरुका मुखारविन्दुबाट श्रवण गर्न पाइन्छ । ‘शंकराचार्य’ ले पनि यस धाममा आएर तपस्या गरेको तथा शिवपुराणमा उल्लेखित कालान्जर पर्वत नै ग्वाल्लेक धुरा धाम भएको पुष्टि गरेको कुरा समेत केही विद्वान्हरुले उल्लेख गरेको पाइन्छ । “स्कन्दपुराणको मानसखण्डमा यसलाई ‘वायुतट’ पर्वत भनिएको छ । धेरै हावा चल्ने यो स्थानको वरिपरिको वस्ती ‘वायुतटि’ कहलिएबाट नै कालान्तरमा अप्रभंश भै बैतडी नाम बन्न गएको मानिएको छ ।”
“मानस पुराण अनुसार तीन शिखर भएको गोलोक पर्वत, शतलिङ्गको दर्शन गर्न सकिने जहाँ तेत्तीस कोटि देवताहरु सदा शिवको आराधना गरिरहन्छन्, त्रिशिङ पर्वतमा गोपेश्वर भगवान नित्य जागृत रहन्छन्, जो उनको दर्शन गर्छ, ऊ देवलोक प्राप्त गर्दछ …’ (मानसखण्ड पुराण) भनेर उल्लेख गरेको पाइने उनै ग्वाल्लेक केदार हुनुपर्दछ भनेर अनुमान गरेको पाइन्छ । यहाँको प्रचलित लोक मान्यता ‘मानिसहरु मनपरी गर्छन् यहाँ अन्त उत्पात भन्ने कुरा गर्दछन्, ग्वाल्लेकको रहस्य खोल्नु हुँदैन’ भन्ने रहेको हुनाले पनि ग्वाल्लेक धाम सित सम्बन्धित कतिपय कुराहरु अभेध्य नै रहेको प्रष्ट देखिन्छ ।
ग्वाल्लेक धामको अवस्थिति :
तात्कालिन बैतडी, तल्लो स्वराड़, मल्लो स्वराड़ र पास्सै गर्खाको केन्द्रमा ग्वाल्लेक धुराधाम अवस्थित रहेको छ । यस धाममा तीनवटा त्रिशुलाकार पवित्र शिखरहरु अवस्थित रहेका छन् । जसलाई त्रिशुल पर्वत भनेर भन्ने गरेको पाइन्छ । त्रिशुल शिखरहरुमा बीचको शिखर नाङ्गो एवम् बाटुलो आकारको रहेको पाइन्छ । बैतडी जिल्लाको समुन्द्र सतहदेखिको उचाई १००० मिटर देखि २८०० मिटर, ३३०० फिटदेखि ९००० फिट रहेको देखिन आउँछ भने ग्वाल्लेक शिखरको उचाइ २७०० मिटर मसिन डाँडाबाट मापन गर्दा गुगलमा देखिन्छ ।
धार्मिक पर्यटकीय दृष्टिले बैतडी सदरमुकामबाट १० कि.मि. पूर्वपट्टी अवस्थित देहिमाण्डौँ बजार ग्वाल्लेक केदार धाम क्षेत्रको प्रमुख प्रवेश विन्दु मान्न सकिन्छ । यहाँबाट पूर्व वा पश्चिम जुन बाटोबाट गए पनि ग्वाल्लेक वरपरका धार्मिक, सांस्कृतिक स्थल एवम् सम्पदाहरुसम्म सजिलै पुग्न सकिन्छ । हाल देहिमाण्डौँ–गिरेगडा, पाटन–मेलौली मार्ग खुलिसकेका र ग्वाल्लेक धाम रिङ्ग रोडको अवधारणा अनुसार कार्य अगाडि बडिरहेकाले यो तीर्थस्थलको दर्शन आगामी दिनमा अझ सहज बन्दै जानेछ । प्राकृतिक विविधतायुक्त धार्मिक शिखर वरपर २७८८.२७ हेक्टर क्षेत्रफलमा फैलिएको वनक्षेत्र रहेको छ । बैतडी जिल्लाका तात्कालिन आठ वटा गा.वि.स. का केही वडाहरु यो ग्वाल्लेक केदार वन क्षेत्रमा समेटिएका छन् । हालको स्थानीय तह पुनः संरचना हुँदा दशरथचन्द न.पा. मेलौली न.पा. र पंचेश्वर गा.पा. का केही वडाहरु यस क्षेत्रमा पर्दछन् ।
नामाकरणका अड्कलहरु :
विद्वान्हरुका भनाई लेखाइ अनुसार पुराणहरुमा उल्लेख खणदेउकेदार, पूर्णज्योतिर्लिङ्ग कालान्जर पर्वत, गोपेश्वर महादेवका नामबाट वर्णित ग्वाल्लेक धामको नाम कसरी ग्वाल्लेक रहन गयो भन्ने सम्बन्धमा समाजअनुसारका केही लोक विश्वास तथा केही अड्कलहरु रहेको पाइन्छ । यो वायुतट पर्वत रहेको कुरा माथि उल्लेख गरियो ।
ग्वाल्लेक केदारको पौराणिक मन्दिर स्थल वरपर (जुन हाल अदृश्य छ) गोयलाहरुको घना जङ्गल रहेको हुनाले स्थानीय भाषामा वनलाई लेक भन्ने गरिएको हुँदा ‘गोयलाहरुको लेक’ बाट छोटकरीमा ‘गोयल लेक’ र सो अपभ्रंस भइ ‘ग्वाल्लेक’ रहन गएको भन्ने भनाइ स्थानीय जानकारहरु बताउँछन् । हाल पनि ग्वाल्लेक वनखण्डमा गोयलाहरुको जङ्गल रहेको पाइनुले यो प्रसंग सत्यताको नजिक रहेको छ । त्यति मात्र होइन केही अघिल्लो पुस्ताका वनक्षेत्र वरपरका मानिसहरुले हालसम्म पनि गोयल लेक भन्ने गरेको पाइन्छ ।
केही जानकारहरुले अड्कल गर्दै ग्वाल्लेक ग्वालाहरुको वन भएको तथा प्राचीन समयदेखि नै यस क्षेत्रमा ग्वालाहरुले गाईवस्तुहरु चराउने तथा ग्वाले (गोले) देवताका रुपमा रुखको फेदमा वा निश्चित स्थानमा ग्वालाहरुले स्थापना गरि गाईवस्तु एवम् आफ्नो रक्षाको वर माग्दै फूलपातीले पूजाआजा गर्ने गरेको, सो चलन चल्दै जाँदा पछि ग्वाल्लेक नामकरण रहन गएको भन्ने अनुमान गरेको पनि पाइन्छ । त्यति मात्रै होइन् यस क्षेत्रको स्थानीय भाषामा ‘गौ’ भनेको ‘गाजी’ अर्थात् गाइवस्तु तथा लेक भनेको वन भन्ने अर्थ बुझिने भएकाले यो वनक्षेत्र गाईवस्तुको लेक ‘गौलेक’ हुँदै अपभ्रंस भइ ‘ग्वाल्लेक’ भएको हुन सक्ने भनाई समेत कतिपयको रहेको पाइन्छ । यस बारेमा यस क्षेत्रका केही जानकारहरुसँग परामर्श गर्दा यसो भन्छन् – “मानसखण्डीय पहाडका सबैजसो वनखण्डहरुमा गाईवस्तु चराउने गरिन्छ, त्यससँग जोडेर ग्वाल्लेक नामाकरण गरिएको भन्नु मिथ्या अनुमान मात्रै हो । यो गोयल लेकबाट नै ग्वाल्लेक बनेको हो भनेर भन्छन् ।” वरिपरिका ग्वालाहरुले हालसम्म पनि ग्वाले देवताको स्थापना गरि पूजाआजा गर्ने गरेको प्रसङ्गमा उनीहरुको भनाई यस्तो पाइन्छ – “ग्वाल्लेक वरपरका क्षेत्रमात्र होइन, खोज्दै गए मानसखण्ड क्षेत्रका धेरै जस्तो क्षेत्रहरुमा हालसम्म पनि ग्वाले देवता स्थापना गर्ने गरेको तथा उत्तराखण्डमा गोलेदेवताको ठूलै मन्दिर भएको प्रसंग झिक्दै ग्वाल्लेक नामको कनेक्सन ग्वाले देवतासँग जोड्नु अप्रसांगिक ठहरिन सक्छ ।” तर केही व्यक्तिहरु भने विगतदेखि वर्तमानसम्मनै ग्वालाहरुको तपस्या स्थल तथा विचरण स्थल ग्वाल्लेक वनखण्ड भएकोले नामाकरणको आधार त्यसलाई नै मानेर हिँडेको पाइन्छन् ।
केही जानकारहरुले यस वनखण्डमा ‘ग्वाल्लेक’ नामका ऋषिले तपस्या गरेका हुनाले यस क्षेत्रको नाम ग्वाल्लेक रहन गएको बताउँछन् । आखिर आदि अन्तै नभएको यो धाम सित जोडिएको यो प्रसंग पनि एक अनुसन्धानको विषय नै हुनेछ ।
यो वनखण्डको शीर्ष भाग त्रिशुल पर्वत जसको बीचको डाँडो नाङ्गो रहेको छ, त्यही नै ग्वाल्लेक धुरा हो तथा वनजङ्गल र भीरले ओगटेको सम्पूर्ण भू–भाग ग्वाल्लेक धाम हो ।
आखिर यसको नाम ‘गोयललेक’, ‘गौलेक’, ‘ग्वालाहरुको लेक’, ‘ग्वाल्लेक’ जे भए पनि यस क्षेत्रको नाम ग्वाल्लेक धाम १४ औँ – १५ औँ शताब्दी पछि मात्र रहन गएको हो भन्ने भनाइ पाइन्छ । यो अभेध्य पवित्रधाम मानवको प्रकृति पूजन परम्पराको ज्वलन्त उदाहरण हो, यहाँ ढुङ्गा, माटो, वनस्पति, जेलाई पनि वनखण्डको जुनसुकै स्थानमा बसि पूजाआजा गर्न सकिने र सोबाट मनोकांक्षा पूर्ण हुने विश्वास आजसम्म पनि रहेको पाइन्छ । तसर्थ ग्वाल्लेक धामलाई प्रकृति पूजाकै प्रतीकको रुपमा मान्न सकिन्छ ।
धार्मिक महत्वको आल (क्षेत्राधिकार) :
देवादिदेव शिवका असंख्य स्वरुपहरुमध्ये मानसखण्ड क्षेत्रमा रहेका भारतको बद्रीकेदर, भारतकै उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षेत्रभित्र रहेका रौला, थल, धज, कमल, थागिल एवम् ग्वाल्लेक लगायतका नामले चिनिने केदारहरुलाई शिवको सात्विक स्वरुप मान्ने गरेको पाइन्छ । साथै यी केदार विशेषका आ–आफ्नै क्षेत्राधिकार (आल) रहेको पाइन्छ । ग्वाल्लेक क्षेत्रभरिमा पूजाआजा गरिने देवदेवीका सबै स्वरुपहरुमध्येबाट ग्वाल्लेक केदारको स्वरुपलाई सबैभन्दा जेठो स्वरुप मानिन्छ । यस क्षेत्रमा खली बिन्ति गर्दा केदारको धामी उपस्थित भएको स्थानमा अन्य देवीदेवताका धामीहरुले काम्दै केदारको धामीलाई गुसाइँ शब्द प्रयोग गरि ढोग्न तथा वरिपरिका देवीदेवताका जाँतहरुमा चौलो (चःलो) जाँदा ग्वाल्लेक केदारतरि ज्वार्ने (सम्मानपूर्वक हात जोड्ने) गरेका उदाहरणहरु यसका साक्षी हुन् । यसरी ग्वाल्लेक केदारको आलक्षेत्रभित्र वनखण्ड वरिपरि समेटिएका हालका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका तथा पंचेश्वर गाउँ पालिका (राज्यको पुनः संरचना अघिका खलङ्गा, त्रिपुरा, बाराकोट, दुर्गाभवानी, देहिमाडौँ, ग्वाल्लेक, नागार्जुन, गिरेगडा, महारुद्र, मेलौली, रोडिदेवल, दुर्गास्थान लगायतका गा.वि.स.) क्षेत्र सँग जोडिएका विभिन्न गाउँ ठाउँ लगायत काली–तोली क्षेत्र पर्दछन् । उदार हृदय भएका भोलेनाथको आल क्षेत्रभित्र ग्वाल्लेक केदारका विभिन्न स्वरुप र थुप्रै सहयोगी देवीदेवताको वास रहेको तथा थुप्रै पिजासहरुले खेल्ने अवसर पाइरहेको पाइन्छ ।
ग्वाल्लेक केदारका विभिन्न स्वरुप तथा शक्तिपीठ :
ग्वाल्लेक केदारलाई ठाउँ अनुसार विभिन्न स्वरुपमा पूजाआजा गर्ने गरेको पाइन्छ । ग्वाल्लेक धुराको वरपर विराजमान सिम केदार, असिमकेदार, गर्ज केदार, देउलेक केदार, महाद्यौ केदार, श्रीकेदार, नकथरोकेदार, बुढाकेदार, डुणोकेदार, खोलदेउ केदार, गणमेश्वर, महारुद्र, भूमिराज, जगन्नाथ, शिवनाथ, कनलदेउ केदार, दानेश्वर आदि केदार तथा देवीदेवताहरुमा श्रेष्ठतम स्वरुप ग्वाल्लेक केदारलाई मानिँदै आएको छ । यसैगरी, समैजी, कैलपाल, नीरयपाल, देउगडे, चनैराज, अमतड़ो लगायतका आदि देवीदेवताहरुका मन्दिर रहेको यस क्षेत्रभित्रका नागार्जुन, ब्रह्मराहू, लाटो आदि गणहरु द्वारपालको रुपमा तैनाथ रहेको पाइन्छ । यसरी विभिन्न देवीदेवताका मन्दिर एवम् शिवस्थलहरु रहेको यो सम्पूर्ण क्षेत्र विशेषलाई ‘ग्वाल्लेक केदार’ क्षेत्र भनिन्छ । शिखरको चारै दिशामा पश्चिमपट्टि त्रिपुरासुन्दरी (रैण्यासैनी), उत्तर पट्टि निङ्गलासैनी र डिलासैनी, पूर्वपट्टि उग्रतारा, दुर्गा भगवती, दक्षिणपट्टि मेलौली, पूर्णगिरी आदि विराजमान रहेका छन् । साथसाथै भागेश्वर महाराज तथा डागेश्वरी भगवती विरामान रहेका छन् । यी सबै भगवतीहरुको चौलो (शोभायात्रा) जाँदा ग्वाल्लेक धामलाई ज्वार्ने गर्ने गरेको परम्परा हालसम्म विद्यमान रहेको पाइन्छ । यसरी जहाँ शिव त्यहाँ त्यहाँ शक्तिपीठ तथा गणहरु भन्ने हिन्दू धार्मिक विश्वास अनुरुप जहाँ जहाँ केदार त्यहाँ त्यहाँ वरिपरि शक्तिपीठ तथा सहायक, सहयोगी गणहरु विराजमान रहेको यो क्षेत्र शिवशक्तिहरुको महासङ्गम स्थल एवम् पवित्रतम् धार्मिक पूण्यभूमि हो । यहाँका मन्दिरहरुमा अमूल्य पुरातात्विक, सांस्कृतिक, मौलिक सम्पदा तथा बहुमूल्य कलाकृति रहेका देवभण्डारहरु रहेका छन् ।
गैरीचाड़ी (सभास्थान) :
यहाँ गौरा तथा अन्य समयमा लोक गाथामा ढुस्को धमारीका रुपमा ‘……. सृष्टिका दाता महादेव ……….’ भनेर गाइने गरेका प्रसङ्ग सृष्टिकर्ताबाट पालनकर्ता तथा संहारकर्ता तिनै स्वरुप महादेवलाई नै मान्ने गरेको पाइन्छ । त्यसैगरी ‘…….. दुबाचौड़ सभा बसि गैछ ………’ भनेर देव सभा स्थलीहरुको समेत लोकसाहित्यमा, लोककथा तथा गाथाहरुमा वर्णन गरेको पाइन्छ । ग्वाल्लेक धामको चारै दिशामा यस्ता देव सभास्थली (गैरीचाड़ी) रहेका छन् । ग्वाल्लेक धुराबाट शंखनाद भएपछि गैरीचाड़ीमा देवीदेवताहरुको सभा बस्ने धार्मिक मान्यता रहँदै आएको तथा सो स्थललाई ठूलो शक्तिको रुपमा पूजाआजा गर्ने तथा जुत्ता चप्पल समेत नलगाइ माटाकै टिका माथामा लगाई ढोग्ने तथा आशिर्वाद थाप्ने गरेको पाइन्छ । यसरी पश्चिम दिशाको सभास्थली क्षेत्र (गैरीचाड़ी) जोशी बुङ्गाको भट्टाड़ भन्ने ठाउँमा अवस्थित रहेको तथा त्यही सभास्थल क्षेत्रमा बैतडी भरिकै चर्चित ‘भट्टाड़कि गोःरा’ को मेला लाग्ने गरेको छ । देवसँग सम्बन्धित निर्णयहरु गर्दा सिम केदार (ग्वाल्लेक केदार) मा आस्थावान मानिसहरु त्यही गैरीचाड़ीमा बसेर छलफल गर्ने गर्दछन् ।
सिम केदारसँग जोडिएका केही प्रसङ्गहरु
१. पौराणिक किंवदन्ती : पासा आमा :
जानकारहरुका अनुसार लगभग चौधौँ – पन्ध्रौँ शताब्दीतिरको कुरो हो, कत्युरी राज्यको मुख्य तीर्थस्थलको रुपमा रहेको कत्युरकै बाहुन पण्डितले पूजाआजा गर्ने, तल्लादेही मेलौली तिर जाने बाटोको उत्तरपट्टिको गाड़को छेउ अर्थात् तोली क्षेत्रमा ग्वाल्लेक केदारको मन्दिर रहेको भन्ने किंवदन्ती पाइन्छ । उति बेला ग्वाल्लेक केदारको जाँत (जात्रा) साउन महिनाको पूर्णिमामा हुने गर्दथ्यो । भारतको कत्युरबाट आएका ब्राह्मणहरुलाई यो ठाउँका मान्छेहरु कत्युरा ब्राह्मण भनि सम्बोधन गर्ने गर्दथे । केदारको जाँतमा महिला, पुरुष सबै चोखा भोका जति सहभागी हुन्थे । एकपटक कत्युरी ब्राह्मीणी धुप, पोखल लगि जाँतमा सहभागी भएर ‘द्यार’ बसेकी रहेछन् । तोलीमा वर्षायामका जुका लाग्ने त्यसमाथि पनि साउनको कुरो उनलाई जुकाले काटेर रगत बगेको रहेछ । केदार देवतालाई रातो टिका समेत बर्जित रहेको अवस्थामा रगत बगेको देखेर जाँतमा गएका कतिपय मान्छेहरुले तिमी भाइर भएकी (रजस्वला भएकी) यो पवित्र धाममा किन आयौँ भनेछन् । उनले ‘हैन म छुई (नछुने) भएकी हैन, जुकाले खाएकी हुँ’ भन्दा कसैले पनि पत्याएनछन् । आमाले सत्य बोल्दा पनि कतिपयले ‘तेरो चरित्र ठीक छैन, तँ छुई भएकी होस्, तेरा कपडामा लागेको त्यही रगत हो’ भनेर आरोप लगाएछन् । आमा चोखो भोको रहेर बर माग्न गएकी तर निर्दोष हुँदाहुँदै पनि झुट्ठा आरोप सुन्दा उनको मन टुटेछ, छाती चिरिएछ अनि उनले सराप्दै भनिछन् – ‘मै जुकाले काटी हनि हौ त यो जाँत टुटिझौँ (आज बठेइ एइ तोली जाँत जन हौँ) नाइँ नाइँ म छुई भइ हनि हौ त यो जाँत होइझौँ । यै तोलीका जुका उजडिझौन, तमरो उठ्ठुबास होइझौँ, तमरा घर विथिति होइझौँ । यसरी सराप्दै आमाले त्यही आसपासको रुखमा पासो लगाएर (झुण्डिएर) आत्महत्या गरिछन् । अपसकुन भयो, जुठो पर्यो र जाँत टुटिहाल्यो ।
जँतेरुहरुको भागाभाग प¥यो । सबै फर्केर घरतिर आएछन् । ठीक अर्को वर्ष साउने पूर्णिमामा जाँत बनाउन भनेर जाँदा मन्दिर नै भेटिएन । तोलीका जुका पनि कहिकतै देखिएनन् । मन्दिर त्यै बेला देखि अदृश्य भएको भन्ने भनाई छ । आजसम्म पनि अदृश्यै छ । कत्युरी ब्राह्मीणी सत्य सवित भइन् । पासो लगाएर आत्महत्या गरेकी हुनाले उनी पासा आमाको नामले अमर भईन् । वास्तविक नाम अनुसन्धानकै विषय छ । त्यो वर्ष मन्दिरै नभेटिएको हुनाले पूजाआजा कहाँ गर्ने ? अनि जाँत पनि भएन । यसरी धेरै वर्षसम्म जाँड कत्युरवालाहरुले जति प्रयास गर्दा पनि केही सीप चलेन । तिनीहरुले केदार देवताको पूजा आजा गर्नै पाएनन् । धेरै वर्ष सम्म देवता अपुजो रह्यो । जाँड कत्युरी कहाँ गए कहाँ, त्यहाँबाट छाडेर गए । उनीहरुको विचल्ली पर्यो । त्यहाँबाट उठीबास भए । कोही हालको डडेल्धुरा आसपास गएका र थर परिवर्तन गरि बसेको अनुमान गरिन्छ भने कतिपय कुमाऊँ कत्युर तिरै फर्केको भन्ने भनाई छ । डडेल्धुराको भागेश्वरको आगो कुमाऊँ, कत्युर देखिन्छ भन्ने भनाई यतातिर रहेको पाइन्छ ।
त्यसपछि सोराडी (चन्द), जोशी र पन्तहरु जाँत बनाउँछौँ भनेर तोली तिर लागेछन् तर तिनीहरुले पनि बाटो र मन्दिर पाएनछन् । त्यसैबेला आकाशवाणी भएछ र ग्वाल्लेक केदारले यस्तो भनेछन् –
“म यहीँ छु, सिम भन्ने ठाउँमा गएर बसेको छु, त्यै गएर पूजाआजा गर्नु ।” (कोही सपना भएको पनि भन्ने गर्दछन्)
आकाशवाणी अनुसार ग्वाल्लेक केदार खोज्ने कार्य गर्न थालियो । सिम गाउँमा रहेको पौराणिक जङ्गल क्षेत्रभित्र जोशी र पन्त मिलेर खोज्दै जाँदा शङ्ख र घण्ट (शाँक–घाँट) मिलेछ, हालसम्म पनि शङ्ख र घण्ट भराड़मा (देव भण्डारमा) सुरक्षित रहेको मान्यता छ । यसरी कत्युरीले तोलीमा पुज्दै आएको ग्वाल्लेक केदार १४–१५ शताब्दीतिर सिम गाउँको शिरमा स्थापित भएको पाइन्छ । स्थापना पश्चात् तोलीमा पासो लगाएर मरेकी पासाआमा सपना विपनामा आउन, देखिन थालिन, खै के वाचा र वरदान रहेछ, (म सत्यकी भए केदारसँगै पूज्य होऊँ भन्ने वाचा थियो भन्छन् जानकारहरु) पासाआमालाई पूजा नगरुन्जेल केदार देवताले पूजा नखाने भयो । यसरी पासाआमा जुन कुडि़का अक्षताले ग्वाल्लेक केदारको पूजा गरिन्छ, त्यही कुडि़का अक्षताले केदार देवतासँगै बसेर पूजा खाने गरि पिजास भईन । सत्य कि पासाआमा अमर भएको तथा ग्वाल्लेक केदारले शरणमा राखेको यस्तै किम्बदन्ती यहाँ पाइन्छ ।
२. सत्य र न्यायका देवता :
हिन्दू धर्म अनुसार शिवलाई सत्य र न्यायका देवता मानिँदै आएको पाइन्छ । यस्तै प्रसङ्गहरु सिम केदार सित पनि सम्बन्धित रहेका पाइन्छन् । यस भेगमा ‘होक्कन्या बल्लु टिक्कोनाइँ’ (मै हुँ भन्ने घमण्डी टिक्दैन्) भन्ने भनाई रहँदै आएको र मै हुँ भन्नेको घमण्ड ग्वाल्लेक केदारले चुर्चुर् पारिदिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
नीलगढ गाड़ पारी बैतडी, नानी गाड़ (लिछोड़ी गाड़) पारी सोराड़ भनेर छुट्याइएमा तत्कालिन क्षेत्रमध्ये यो दुबै गाड़को बीचको भू–भाग पास्सै (पाँच सय) को नामले प्रचलित भू–भाग रहँदै आएको

छ । छुट्टै पास्सै क्षेत्रको नामले प्रचलित भए पनि राजकाज र तिरो तिरान कार्य कुल्लेक कोट अन्तर्गत भएकाले यो बैतडी उपराज्य अन्तर्गतकै भू–भाग रहेको मानिन्छ । यो पास्सै क्षेत्र अन्तर्गतको सिममा स्वराड़ी ठकुरी रहन्थे उनीहरु नै राज गर्न चाहन्थे (हाल पनि केही परिवार रहेका छन्) सोराड़ी तथा जोशी पन्त बीच संघर्ष चलिरहन्थ्यो । स्वराड़ीहरुले पास्सै गर्खालाई स्वराड़ बनाउन निलगढमा सीमास्तम्भ गाडेको र त्यसलाई जोशी पन्तहरुले उखेलेर लिछोडी गाड़मा रातारात सारेको प्रसङ्ग पाइन्छ । हाल पनि सो सीमा स्तम्भ वीरखाममा नामले चिनिने लिछोडी गाड़को छेउमा रहेको छ । धेरै समय पश्चात् सिममा केदार स्थापना भएको तर धामीको खोजी भइरहेको अवस्था थियो । सिम क्षेत्रमा ऐबरन्या, हरिया र जवा नाम गरेका तीन भाइ स्वराडी थिए । तीन भाइमध्ये ऐबरन्या चलाख र बाठो, हरिया ऐबरन्याले भनेको अक्षरस पालन गर्ने तथा जवा सिदा सादा थिए भनिन्छ । त्यतिबेलाको शासन सत्ता अनुसार बैतडी जिल्ला कायम नभएको तथा यस क्षेत्रको प्रशासनीक काम अछामबाट हुने गरेको पाइन्छ । त्यस समयमा जोशी पन्त लगायतका अन्य जातजातिहरुमाथि दमन गरी शासन गर्न ऐबरन्या कटक ल्याउन अछाम तिर लागेको अवस्था थियो । त्यतिबेलाको शासन पद्धतिमा अछामबाट आदेशानुसार कटक आउने, लुटपीट गर्ने, जिते भने कब्जा गर्ने र शासन गर्ने, जित्न नसके हारेर भाग्ने गर्ने गरिन्थ्यो । ठीक त्यही बेला केदार देवताको धामी कोही नभएको जोशी पन्त लगायतका अन्य जातजातिको बहुमत रहे पनि निहत्था रहेको अवस्थामा जोशी घरका पुत्या बाजे (१०–१२ वर्षको बच्चा) कामेको प्रसङ्ग पाइन्छ । देवता काम्दै ‘ऐबरन्या अछामको अछामै राख्छु, हरियाको हातमा सौलो (हरियो स्याउला) दिन सके भने म आइहाले, यो जवालाई पाँच पुत (सन्तान) दिन्छु’ (कोही दुई जोला पुत दिन्छु भनेको बताउँछन्) हेर भनेर भाखा दिएको जानकारहरु बताउँछन् । (जवा भागेर जाने क्रममा रोक्दै जवा बुढो भैसकेको र श्रीमती पनि बुढी भइसकेको अवस्थामा सुकेको र हरियो फर्काउछु ।’ भनेको र जवाको अपुताली रोकेको प्रसङ्ग पाइनु) देवताको बोल अनुसार ऐबरन्या अछामको अछामै रह्यो, फर्किएन, हरियालाई कोड़ लाग्यो र झिँगा धपाउन सौलो समात्यो तथा जवाका पाँच सन्तान भए उनीहरु आज पनि जोशी बुङ्गामै बसोबास गर्दछन् । सोराड़ीहरु भागे, केही यतै बसे । त्यसपछि मात्रै जोशी पन्तहरुको राज पास्सै क्षेत्रमा भएको पाइन्छ । यसरी निर्धाको रक्षा गर्ने, अपुतालाई पुत दिने, भक्तको मनको इच्छा पूरा गर्ने, मै हुँ भन्नेलाई सजाय दिने, सत्य तथा न्यायका प्रतीक ग्वाल्लेक केदार देवलाई मानिदै आएको पाइन्छ ।
पुजारी; पूजा पद्धति तथा सामग्री :
यस ग्वाल्लेक केदार धामभित्र पूजाआजा, धूप बत्ती गर्न साउनको महिनालाई एकदमै उत्तम मानिन्छ । त्यसरी नै शुक्ल सप्तमी तिथी, नवरात्री, पूर्णिमा आदि पर्वहरुमा ग्वाल्लेक केदारको पूजाआराधना शास्त्र विधिबाट गर्ने गरेको पाइन्छ । ग्वाल्लेक धाम क्षेत्रभित्र जुनसुकै स्थानमा पनि पूजा आजा गर्दा हुने तथा यस धाममा पूजा गर्ने एउटै जातको कुनै विशिष्ट पूजारी तोकिएको पाइँदैन । जुनसुकै व्यक्तिले जुन सकुै दिन कम्तिमा सात दिनको चोखो भोको रही जुनसुकै ठाउँमा अथवा वृक्षमूनी पूजाआजा अर्पण गर्दा हुने प्रचलन रहिआएको पाइन्छ । सिम केदारको पूजारीको उल्लेख गर्दा ब्राह्मणहरु नरायन्या पन्त, दम्वा पन्त, नुहाटी देउकर भट्टका सन्तान, खन्ड्या पन्त, ‘खन्ड्या नाति’ हुँदै हाल पन्त पट्टिकै पुजारी रहेको पाइन्छ ।
श्रीखण्ड, सेतो वा पहेलो चन्दन, अक्षता, गाईको दूध, पुष्प, कुर्जो पाती, सेतो–पहेलो ध्वजा नेजा, जौं, तिल, पिंजरी (गुहुँको पिठो घ्यु, गुण मिसाएर भुटेर बनाएको प्रसाद) लगायतका अन्य पूजाआजामा आवश्यक सामग्रीहरु प्रयोग गरी शास्त्रविधिबाट पूजाअर्चना गरिन्छ । रातो टीका बर्जित छ । यस क्षेत्रमा साउनको महिना शिवको पवित्र महिना भएको मानिन्छ । यो महिना भरी ग्वाल्लेक धाम लगायत वरिपरिका स्वरुप र शक्तिपीठहरुमा धूप बत्ती गरिन्छ । मंसिर शुल्क पूर्णिमाका दिन सिमपट्टी रहेको ग्वाल्लेक केदारमा ठूलो जात्रा (जाँत) लाग्ने गरेको पाइन्छ । यसै गरी जेठ महिनामा नौ न्वाकी (नयाँ गहुँको पीठो प्रसाद) र दौं चढाउने तथा असोज नवरात्रा अगाडी वा कात्तिकमा पोखल (नयाँ धानको चामल प्रसाद) चढाइन्छ । याम अनुसार फल्ने अन्नबाली मकै, घोगा पनि साउन भदौमा चढाउने परम्परा रहि आएको पाइन्छ ।
अस्थी बिसर्जन:
ग्वाल्लेक केदारले देश प्रदेश सबै तिर रक्षा गर्ने गरेको तथा छेउबाट काली (महाकाली) बग्दै गरेको कुरा उल्लेख गर्दै धामी कामेर ‘काली मेरी तोली मेरी’ भन्ने गरेको प्रसङ्ग पाइन्छ । सबै धाम तीर्थ मै भएको (ग्वाल्लेक केदारमै समाहित भएको) ब्यहोरा वाणी हुने गर्नाले यस सिम केदार मान्ने मानिसहरु अस्थी विसर्जन गर्न हरिद्वार जाँदैनन् । एकपल्ट जोशी पट्टिबाट यहाँका बुढापाकाहरुको आग्रह नमानी गंगाजीमा अस्थी विसर्जन गर्न भनेर हरिद्वार तिर लागेका तर फलिफाप नभई त्यो मान्छेले पुनः न्वारान गरेको सन्दर्भ सुन्न पाइन्छ । ‘दार्चुला शिखर महाकालेश्वर शम्भुको जटाबाट निक्लेकी हुनाले यी महाकाली भइन्, यिनको महत्व गङ्गाजी जस्तै छ, यहाँ दाह संस्कार गरेमा हरिद्वार’ गङ्गाजीमा अस्थी विसर्जन गर्नु जानु आवश्यक छैन” भनेर महादेव भट्टले तत्वबोध रामायणमा उल्लेख गरेको पाइन्छ । त्यसैगरी महाकाली तटमा प्याउलेमा गरिएको ब्रतबन्ध उत्तम मानिन्छ । महाकाली तट सतपाली नागार्जुनको सम्बन्ध दानेश्वर हुँदै ग्वाल्लेकसँग रहेको पाइन्छ ।
बर्जित कुराहरु :
कम्तिमा हप्तौं दिन सम्मको चोखो भोको रहेर दर्शन गर्नुपर्ने मान्यता रहेको पवित्र ग्वाल्लेक धाम क्षेत्रभित्र थुप्रै कुरा तथा व्यवहारहरु बर्जित गरिएको पाइन्छ । पवित्र धाम भित्र मांस मदिरा जन्य मादक पदार्थ तथा तामसी भोजन बर्जित गरिएको पाइन्छ । त्यसैगरी देहाय बमोजिमका थप बन्देजहरु प्रचलनमा रहेका पाइन्छन् :
ड्ड जथाभावी बाजा नबजाउने
ड्ड चर्को आवाज निकालेर होहल्ला नगर्ने
ड्ड अर्काको चुक्ली नगर्ने, कुरा नकाट्ने, अर्काको अपमान नगर्ने,
ड्ड मद्यपान नगर्ने
ड्ड झुठो नबोल्ने
ड्ड जुत्ता चप्पल नलैजाने
ड्ड रातो टीका, रातो वस्त्र नलगाउने, आदि ।
उपर्युक्त बन्देजहरु कठोरपूर्वक पालना गर्नुपर्ने र नगरिएको खण्डमा हुने परिणामको भागिदार स्वयम् रहने भन्ने मान्यता रहेको पाइन्छ । यी बन्देजहरु उल्लघंन गर्नेहरुले पाएको परिणाम, सजायका सम्बन्धमा यस क्षेत्रमा विभिन्न प्रकारका किंवदन्तीहरु रहेका पाइन्छन् । उलङ्घन गर्नेहरुले बाटो बिर्सिने, सोचेको ठाउँमा नपुगी अन्यत्रै पुग्ने, उठीवास हुने, अन्धो, लङ्गडो तथा पागल हुने तथा भए गरेका ऐतिहासिक घटनाहरु स्थानीय समाजमा छरपस्ट सुनिन्छन् ।
अभेध्य अलौकिक शक्ति :
ग्वाल्लेक केदार धाम क्षेत्र अलौकिक क्षेत्र रहेको र पन्ध्र बीस दिनदेखि चोखो (मन, वचन र कर्मले शुद्ध) भोको रही श्रद्धा, विश्वास एवम् निष्ठापूर्वक भक्ति गर्न जानेले अकल्पनीय फल प्राप्त गरेका, पवित्र धामको दर्शन गरि त्यही दिन फर्कने गरी गएका केही भक्तजनहरु त्यहाँको अलौकिक आनन्दमा मन्त्रमुग्ध भई महिनौँ दिन सम्म धाम क्षेत्रमै बसी रमाएको अनि मात्रै घर तिर फर्किआएको घर फर्किदा पारिवारिक स्थिति सुध्रिएको, केही भक्तहरुले भोकको अनुभव गर्दा विभिन्न प्रकारका स्वादिष्ट प्रसाद तथा भोजनहरु ग्रहण गर्ने गरेको, रातमा ओढ्ने ओछ्याउने उपलब्ध भएको जस्ता स्थानीय क्षेत्रमा सुनिने परिघटना एवम् अनुभवहरुले ग्वाल्लेक धामको अलौकिक शक्ति अभेध्य रहेको कुराको पुष्टि गर्दछ ।
धार्मिक पर्यटकीय सम्भावना क्षेत्रहरु
केही प्रसङ्गहरु माथि उल्लेख गरिएका तथा थुप्रै प्रसङ्गहरु उल्लेख गर्न बाँकी रहेको यो ग्वाल्लेक धाम क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र हो । अव्यवस्थित पर्यटनले समस्या निम्तिदै गरेको छ । चारैतिरका बस्तिहरुको आश्रय स्थल ग्वाल्लेक धार्मिक वनमाथिको निरन्तर अनियन्त्रित दोहनले यहाँका थुप्रै जनावर, वृक्ष तथा जडीबुटीहरुमाथि सङ्कट उत्पन्न भई रहेको छ । यस क्षेत्रको जैविक विविधता, मनमोहक दृश्य, चट्टान, भीर धामभित्रका पाटनहरु, हरिया डाँडाहरु, वरिपरिका धार्मिक स्थलहरुको व्यापक प्रचार प्रसार हुन सके यस क्षेत्रमा धार्मिक पर्यटनको आकर्षक गन्तव्य हुने अपार सम्भावना रहेको छ । यहाँका स्थानीय देवीदेवताका जात्रा मेलाहरुमा करोडौँको व्यापार हुने गरेको तथा थुप्रै मेलाहरुमा भारतबाट समेत पसल थाप्नेहरुको होडबाजी नै चलेको पाइन्छ । वनभोजका लागि प्रशस्त खुल्ला ठाउँ भएको, ठाउँ–ठाउँमा पानीका मुहान भएको यो क्षेत्रको प्रचार प्रसार हुनुका साथै संरक्षण हुनु जरुरी रहेको
देखिन्छ । यस क्षेत्रको पवित्रतालाई जोगाइ राख्नु चुनौति नै छ ।
१) जैविक विविधताले भरिपूर्ण पर्यापर्यटन :
जैविक विविधताले भरिपूर्ण यस वनक्षेत्रमा बाज, खर्सु, गोयला, काफल, लालीगुराँस, चिलाउने, सल्ला लगायतका विभिन्न प्रजातिका वनस्पतीहरु, लेक तितो, टिमुर, सुगन्धवाल, पाँच औंले, चिराइतो, सिल्फोडे, खुचड़े, गनानो, लगायतका थुप्रै जडीबुटीहरु (सेती–महाकालीमा पाइने ६६ जातका वनऔषधी मध्ये ४८ वटा यसै लेकमा उपलब्ध रहेका छन्), नेपाली कागज निर्माण हुने ‘वडुवा’ वनस्पति रहेको, शीलाजीत, कमेरो, खरी, अभ्रख लगायतका खनिजहरु, विभिन्न प्रजातीका जनावरहरु, चराचुरुङ्गीहरु प्रचुर मात्रामा रहेका पाइन्छन् । यिनीहरुको संरक्षण, सम्बद्र्धन र उचित रुपमा प्रयोग हुन सके यस क्षेत्रको आर्थिक स्थितिमा कायापलट हुने सम्भावना देखिन्छ । यस क्षेत्रमा थुप्रै जलाधार क्षेत्ररहेका तथा चारैतिरका बस्तीका पानीको मुहान यहि रहेको वनखण्डबाट केदारी गाड़, तिताखोली गाड़, गोइचारी गाड़, लिछोडी गाड़ (नानी गाड़), झाँझर गाड़, गर्मा गाड़, लगायतका मिनि नदिहरु निस्केका छन् । धार्मिक पर्यटनको अनुपम स्थल, घनावन लालीगुराँस फुलेका बेलाको मनमोहक दृश्य, सेता गुलाबहरुको बगैंचा, चारै दिशामा आउने जाने बाटो भएको, तालतलैया, घाँसे मैदान, पानी वर्षाउने रुख, थुप्रै गुफा (ओराड़) हरु, गुफाबाट निस्कने पानी, तोलीमा जुका नहुनु, उठाउन नसकिने चिल्ला ढुङ्गाहरु देखिनु, अदृश्य हुनु, चोखो भोकोलाई भोजन मिल्नु, अपवित्र भए बाटै नपाउनु जस्ता विषयवस्तु र प्रसङ्गहरुले पनि यो पवित्रधाम एक अनुपम स्थल हो, मिनि खप्तड नै हो ।
२) लोकपर्व तथा लोकसंस्कृति प्रदर्शन :
यस धाम क्षेत्रमा स्थानीय लोक परम्परा अनुसारका मेला, जात्रा, विषु पर्व, असाड़ी जाँत, तके जाँत, कात्तिके जाँत, नवरात्रा, भैलो, जमानी जात, गौरा पर्व, धामी नाच, छलिया नृत्य, हुड्केली, ठाडो खेल, फाग सगुनहरुको संरक्षण सम्बद्र्धन गरि समुचित सम्प्रेषण गर्न सकेमा धार्मिक पर्यटनको चहलपहल बढ्ने देखिन्छ । त्यसैगरी यहाँको जीवनशैली एवम् व्यवहार सित सम्बन्धित मौलिक खानपान, चालचलनहरुको अध्ययन अनुसन्धान गरि तिनीहरुको प्रदर्शन तथा बजार विस्तार गर्ने सकेमा आर्थिक उन्नति हुने देखिन्छ । त्यसैगरी कृषि सँग सम्बन्धित जैविक उत्पादन तथा अन्य स्थानीय उत्पादन जर्गको साग, जर्ग र जेवलकट्याका तामाका भाडा, देहिमाडौंका निङ्गलाका सामग्री, सुर्काल रे ढणौनको घि दूध, पेःल्या तिरको चोतो, बर्तोली रे सेलीका सुन्तला, मुङरौंका मौसमी, रौतगडाका कागती आदि तथा माड़ा, बट्कु, डुब्का, पुरी, रोट लगायतका परिकारहरुलाई बजारीकरण गर्न सकिन्छ ।
भारतीय पर्यटकहरुको धार्मिक गन्तव्य
बैतडीको त्रिपुरा सुन्दरी, मेलौली, निङ्गलाशैनी, गणमेश्वर, सिमकेदार, उदैद्यौ, शिवनाथका जाँत (जात्रा) हरुमा सीमावर्ती भारतीय पर्यटकहरु आउने गरेको र केही व्यवसायीहरु आएर व्यवसाय गर्ने गरेको पाइन्छ । यसप्रकार ग्वाल्लेक धाम क्षेत्रको पर्यटकीय आकर्षण बढाई यस क्षेत्रका ग्रामीण पर्यटनलाई जोड दिएर अगाडि बढ्न सके यस्ता पर्यटकहरुको भ्रमण अवधि बढाउन सकिन्छ । जसका माध्यमबाट थप पर्यटकहरु भित्रिने सम्भावना समेत उत्तिकै रहेको पाइन्छ ।
ध्यान, मनोरञ्जन र वनभोजका लागि उत्तम स्थल :
धार्मिक आध्यात्मिक दृष्टिले महत्वपूर्ण रहेको ग्वाल्लेक धाम भक्तहरुको ध्यान केन्द्र रहेको
पाइन्छ । श्रद्धापूर्वक यस क्षेत्रमा ध्यान गर्दा चरम शान्ति प्रदान भै मन आनन्दित हुने गरेका थुप्रै प्रसङ्गहरु रहेका छन् । वन क्षेत्रभित्र थुप्रै घाँसे मैदान, पानीका मूल, खोला नाला, भीर पहाड अवस्थित रहेकोले हेर्दैमा मन आनन्दित हुने क्षेत्रमा वनभोजको स्वाद झनै स्वादिष्ट हुने कुरामा दुईमत छैन् । केबुलकारको व्यवस्था, होमस्टे स्थापना गर्न सके यो क्षेत्रमा पर्यटकीय सम्भावनामा उल्लेख वृद्धि हुने सुनिश्चितता रहेको देखिन्छ ।
राजा विरेन्द्रको सवारी :
यस ग्वाल्लेक धामको महिमा तथा वन क्षेत्रको बारेमा सुने पश्चात् विक्रम सम्वत् २०४३ सालतिर यस धामको दर्शनको लागि तात्कालिन राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सवारी भएको थियो । स्थानीय ग्वाला, बनाराहरुलाई भेट्दा राजारानीका तस्बीर भएका ब्याजहरु चिनोको रुपमा दिएर गएका तथा वन क्षेत्रलाई संरक्षित वन क्षेत्र निर्माणमा सहयोग गर्न सवारी भएको भनेर स्थानीयहरुले राजा रानीको स्मरण गर्ने गरेको पाइन्छ । तसर्थ यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सबैको समुचित ध्यान जानु आवश्यक देखिन्छ । हाल ग्वाल्लेक वरिपरि रिङ्गरोड बनाउँदै स्थानीय तहहरु सोका लागि लागिपरेको आभाष हुन्छ । रिङ्गरोड पनि दोहनका लागि मात्र प्रयोग नभई ग्वाल्लेक धामको धार्मिक पर्यटनमा सहयोगी सिद्ध हुनु आवश्यक देखिन्छ । साथसाथै भारतको उत्तराखण्डसँग जोड्ने मोटरमार्ग तथा कञ्चनपुर, डडेल्धुरा, पंचेश्वर हुँदै दार्चुला जाने करिडोर चाँडै बनेको खण्डमा यस क्षेत्रको अरु प्रचार प्रसार हुने देखिन्छ । यस क्षेत्रमा भ्युटावर बनाउन सकिए हिमालहरुको दृश्यावलोकन गर्न आकर्षक हुने देखिन्छ । जथाभावी रोडहरु निर्माण गर्नुभन्दा यस धामका चारैतिरका देवस्थलहरुबाट केबुलकार निर्माण गरि जोड्न सके अति नै उत्तम हुने देखिन्छ ।
समस्या र चुनौतीहरु :
धामका चारैतिर रहेका बस्तिहरुको मूल आश्रय थलोका रुपमा रहेको यस क्षेत्रका समस्या एवम् चुनौतिहरुलाई यसरी उल्लेख गर्न सकिन्छ ।
यस क्षेत्रमा विद्यमान जैविक विविधता, वनस्पति, जडीबुटी, जलाधार क्षेत्रको अनियन्त्रित दोहन भइरहेको छ ।
खुला अनियन्त्रित चरिचरन, अव्यवस्थित काठ दाउरा सङ्कलन, अबैध रुपमा जडीबुटीको निकासिले गर्दा थुप्रै स्थानीय वनस्पतिहरु लोप भइसकेका छन् ।
वन क्षेत्रको अतिक्रमण तथा अनियन्त्रित चोरी सिकारीको कारणबाट वन्यजन्तुहरुमाथि प्रहार भइरहेको छ ।
आधुनिकताको नाममा पुराना मौलिक संरचनाहरुको मौलिकता हराउँदै गइरहेको छ ।
सांस्कृतिक सम्पदाहरु, पुरातात्विक विषयवस्तुहरुमाथि नकारात्मक संक्रमण बढ्न गई तिनीहरुको मूल स्वरुप विकृत पारिँदै छन् र विलुप्त भइरहेको अवस्था रहेको छ ।
परम्परागत कृषि, पशुपालनबाट युवाशक्ति टाढिँदै गएको अवस्था सिर्जना भइ बेरोजगारी, गरिबी लगायतका समस्याहरु सिर्जना भइरहेका छन् ।
दीर्घकालिन अवधारणा एवम् सोच बिना विकास निर्माणका नाममा गरिने गतिविधिहरुबाट समूहगत भन्दा व्यक्तिगत स्वार्थ प्रेरित भइरहेको तथा सोको कारणबाट वनविनाश, भू–क्षय लगायतको समस्या सिर्जना भइरहेको देखिन्छ ।
स्थानीय क्षेत्रमा विद्यमान केही रुढीवादी परम्परा एवम् सोचाइहरु समेत चुनौतीका रुपमा खडा भएका देखिन्छन् ।
सम्भाव्य उपलब्धिहरु :
धार्मिक पर्यटनको प्रचार प्रसार तथा विकासका माध्यमबाट पर्यटकीय आवागमन बढ्ने छ ।
पर्यटन आवागमनमा सहजता भए यस क्षेत्रमा आर्थिक गतिविधि बढ्न गई केही हदसम्म बेरोजगारी हटाउनमा मद्दत गर्नेछ ।
धार्मिक वनखण्डको संरक्षण हुन गई जैविक विविधताको संरक्षण हुनेछ ।
पानीका मूलहरु सुक्नबाट रोकिने छन् साथै वर्षाको लागि सहयोगी सिद्ध रहिरहने छ ।
धार्मिक पर्यटकीय एवम् सांस्कृतिक सम्पदाहरुको समुचित सुप्रवद्र्धन हुनेछ ।
स्थानीय स्तरमा चेतनाको अभिवृद्धि हुन गई आय आर्जन वृद्धि हुनुका साथै धामको महत्व प्रष्ट हुनेछ ।
केवलकारको निर्माण गर्न सके धाम क्षेत्रसँग अन्य क्षेत्रको सम्पर्कमा सहजता हुने तथा सोका माध्यमबाट नयाँ नयाँ रोजगारका विकल्पहरु सृजना हुनेछन् ।
समुन्नत, शिष्ट समाजको निर्माण भइ राष्ट्रिय संस्कृति निर्माणमा महत्वपूर्ण योगदान मिल्नेछ ।संरक्षण सम्बद्र्धनका लागि गरिएका प्रयास र चाल्नु पर्ने पाइलाहरु :
प्रयासहरु :
हाल ग्वाल्लेक वनखण्डमा छ–सात वटा स्थानीय सामुदायिक वन एवम् राष्ट्रिय वन रहेका छन् । यस क्षेत्रको वनलाई संरक्षित वनका रुपमा अघि बढाउन सर्वे तथा सीमा निर्धारण कार्य भै सकेको छ ।
ग्वाल्लेक धाम क्षेत्र बाहिर चक्रपथ निर्माण भइरहेको छ । देहिमाण्डौं, ग्वाल्लेक, नागार्जुन हुँदै गिरेगडा, रोडिदेवल सम्म सडक निर्माण भई आवागमनमा सहजता भैरहेको छ । त्यसैगरी दुर्गास्थान, सलेना, महारुद्र हुँदै मेलौली–पंचेश्वर जोड्ने कार्य भैसकेको छ ।
मठ मन्दिरहरु पुनः निर्माण तथा मर्मत भइरहेका छन् ।
ग्वाल्लेक धामलाई केन्द्रमा राखि गुरु योजना बनिरहेका छन् ।
महाकाली करिडोर निर्माण भइरहेको छ ।
स्थानीय नागरिकहरुमा समेत चेतना अभिवृद्धि गर्ने कार्य भैरहेको छ ।
चाल्नुपर्ने पाइलाहरु ः
ग्वाल्लेक धाम क्षेत्र वरिपरि बनिरहेको चक्रपथलाई नै परिक्रमा पथ तथा पर्यटक मार्गका रुपमा विकास गर्नु पर्ने,
वनक्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरि घेराबार लगाउनु पर्ने,
जैविक विविधता संरक्षणका लागि, जलाधार क्षेत्र, घाँसे मैदान, पानीका मुहान लगायतको समुचित संरक्षणमा जोड दिनुपर्ने,
ग्वाल्लेक धाम दर्शनका लागि धाम क्षेत्र वरपरका देवस्थलहरुको दर्शन गर्ने गरि रुट तयार पार्ने तथा वरपरका सम्पदाहरुको समेत संरक्षण, सम्बद्र्धनमा जोड दिनुपर्ने,
आध्यात्मिक साधना स्थल, वनभोज स्थल, अवलोकन स्थलहरुको व्यवस्थापन तथा सम्प्रेषण गर्ने,
आधुनिकता र पुनः निर्माणका नाममा धार्मिक पुरातात्विक, सांस्कृतिक सम्पदाहरुमाथि भैरहेको अतिक्रमण तथा हस्तक्षेप रोक्नु पर्ने तथा पुनः निर्माण गर्दा मौलिकता नबिग्रिने गरि गर्नुपर्ने,
पर्यावरण र संस्कृति संरक्षण गर्न धार्मिक वन, मठमन्दिर, देवालय, गुफा, ताल, पाषाण स्तम्भ लगायतको संरक्षण गर्नुपर्ने,
भारतको उत्तराखण्ड क्षेत्रसँग सामाजिक सांस्कृतिक सम्बन्ध अरु विस्तार गरि पर्यटकहरु आकर्षित पार्ने,
त्रिपुरासुन्दरी, दानेश्वर, मेलौली, बर्तोली, शिवनाथ, गणमेश्वर लगायतका मन्दिरहरुसम्म केबुलकार संचालनतर्फ प्रयास गर्ने,
स्थानीय लोक संस्कृति संरक्षण सम्बद्र्धनमा जोड दिनु पर्ने,
स्थानीय भेषभुषा, आहारविहार, स्थानीय उत्पादनका सामग्रीहरुको बजारीकरण गर्न सबै तिरबाट सहयोग तथा आवश्यक पहल गर्नुपर्ने,
स्थानीय ललितकलाको संरक्षण सम्बद्र्धन गर्नुपर्ने,
जिल्लास्तरमै ग्वाल्लेक धाम संरक्षण समिति निर्माण गरि यस क्षेत्रको सर्वाङ्गिण विकासमा जोड दिनुपर्ने,
साहित्यिक सांस्कृतिक सभा सम्मेलन, धार्मिक पर्यटन सम्मेलन तथा प्रदर्शनीहरुको आयोजना गर्ने,
स्थानीय क्षेत्रहरुमा सीप तथा व्यवसायमूलक तालिम एवम् प्रशिक्षणहरु दिने व्यवस्था मिलाउनु पर्ने,
सूचना प्रविधिको समुचित उपयोग गर्दै व्यापक प्रचारप्रसारका क्षेत्रमा जोड दिनुपर्ने,
उपसंहार ः
ग्वाल्लेक धामको महिमा अपार छ, खोज्नुपर्ने थुप्रै विषयवस्तुहरु रहेका छन् । यस आलेखमा ग्वाल्लेकको बारेमा केही कुराहरु त्यसमा पनि सिममा अवस्थित ग्वाल्लेक केदारको स्वरुपबारे थोरै ब्यहोरा र पर्यटकीय सम्भावनाको बारेमा मात्रै उल्लेख गर्ने प्रयास भएको छ । यस आलेखमा थपघट गर्नुपर्ने कुराहरु समय सापेक्ष सरसल्लाह अनुसार गरिँदै जानेछन् । ग्वाल्लेकका थुप्रै प्रसङ्ग एवम् विषयवस्तुहरु अभेध्य रहेका छन् । यस क्षेत्रको समुचित विकास हुन सके थुप्रै सम्भावनाहरु रहेको कुरामा दुईमत रहँदैन् ।
अस्तु !
मिति : २०७७।०४।०१
(यस आलेखमा कसैको असहमति भएमा वा थप कुरा प्रष्ट्याउनु पर्ने देखिएमा कमेन्ट बक्स अथवा [email protected] मा तथ्य सहित उल्लेख गरिदिन हुन विद्वान् पाठकवर्गहरुमा अनुरोध गरिन्छ ।)
हार्दिक आभार :
देहाय बमोजिमका व्यक्तिहरुसँगको सम्पर्क, वार्तालाप र अर्तिपूर्ति आलेख तयार पार्नमा सहयोगी सिद्ध भएकोले ती महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
ज्योतिष तारादत्त पन्त, स्व. मानसिंह पन्त, मनोरथ पन्त, भगीरथ पन्त, देवदत्त पन्त, स्व. बहादुर पन्त, हरिसिंह पन्त, लालसिंह पन्त, रामदत्त जोशी, तारादत्त जोशी, दशरथ जोशी, मोहन देव जोशी, स्व. गम्भीर चन्द, स्व. पुष्कर चन्द, खेमराज भट्ट, जयराज जोशी, विसनदत्त जोशी, राम सिंह विष्ट, बासुदेव भाइसाब, जगदीश ओझा, वीर बहादुर चन्द, घनश्याम लेखक, हेमबाबु लेखक, कविराज भट्ट, भानदेव वडू, राजेन्द्र रावल ।
सन्दर्भ सामग्री :
ड्ड भण्डारी, जीतसिंह (२०६०), डोटी क्षेत्रको प्राचीन इतिहास धार्मिक स्थल र वंशावली, मेघा प्रेस प्रा.लि., काठमाण्डौँ ।
ड्ड भट्ट, महादेव (२०६४), तत्वबोध रामायण, मुरलिधर भट्ट, कञ्चनपुर
ड्ड ओझा, आत्माराम (२०६५), सु.प. को इतिहास परिचय, करुणा देवी ओझा, महेन्द्रनगर ।
ड्ड ओझा, व्यासाचार्य खेमराज (२०६९), पश्चिम गुठी (दर्शन ग्रन्थ), ब्यङलोर पर वासी समाज ।
ड्ड भट्टराई, भोजराज (२०७०), डोटी राज्यको इतिहास, सिग्मा जनरल अफसेट प्रेस, ललितपुर ।
ड्ड लेखक, आचार्य घनश्याम (२०७३), मानसखण्ड संहिता (मानस पुराण), जगदम्बा आधुनिक छापाखाना, महेन्द्रनगर ।
ड्ड कलौनी, शिवराज (२०७६), बैतडीको पर्यटकीय सेरोफेरोमा शिवनाथ क्षेत्र, जगदम्बा आ. छापाखाना, महेन्द्रनगर ।
ड्ड विलौना, पं. कविराज भट्ट, स्तोत्र संग्रह, जगदम्बा आधुनिक छापाखाना, महेन्द्रनगर ।
ड्ड http://bibidha.blogspot.com
ड्ड गुगुल्डि (२०७६), पूर्णाङ्क २६६, तथा विविध पत्र पत्रिकाहरु ।
