धादिङकी सुष्मा तामाङ बुधबार थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा पुगिन । स्वास्थ्य जाँच गर्न पुगेकी उनले ओपिडीमा आफ्नो स्वास्थ्यबारे चिकित्सकलाई देखाइन् । २० वर्षीय तामाङको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले अल्ट्रासाउण्डसम्म गरे ।
अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य जाँचपछि तामाङको अवस्था सामान्य रहेको बताए । तर, तामाङले बिहीबार साँझ आफ्नो बच्चा हराएको भन्दै अस्पतालमा होहल्ला गर्न थालेकी छन् । गर्भवती नै नभएकी तामाङले बच्चा जन्माए पनि हराएको दाबीप्रति अस्पतालका कर्मचारी आश्चर्यमा परेका छन् ।
निर्देशक गौतमले तामाङको पाठेघर बच्चा भएको अवस्थामा नभएको बताए । ‘उसको पाठेघर सामान्य अवस्थामा छ, आज अल्ट्रासाउन्ड गरेर हेर्दा पेट नबोकेको देखियो,’ डा. गौतमले भने, ‘पेटै नबोकी बच्चा हराएको दाबी गरेपछि विवाद उत्पन्न भएको छ । अस्पतालमा उसको स्वास्थ्य जाँचबारे सबै रिपोर्ट छ ।’ मैले बच्चा जन्माएको थे तर, हरायो भन्न पेट बोकेको नाटक गरेको आशंका रहेकाे गौतमले बताए ।
श्रीमानले र परिवारले बच्चा नपाएकाे भन्दै दवाव दिएकाले पेट ठुलो बनाएर बच्चा हरायो भन्ने रणनीति अपनाएको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले थप अनुसन्धानपछि मात्रै जानकारी हुने बताएका छन् । उनले भने भने, ‘सुचना आएको छ, हाम्रो टोली प्रसुती गृहमा पुगेका छन्, थप अनुसन्धानपछि थाहा हुन्छ ।’