सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रविधिमैत्री बन्दै अमरगढी नगरपालिका, सेवाग्राहीलाई सजिलो

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका प्रविधि मैत्री बनिरहेको छ। नगरपालिकाको कार्यालयपछि विभिन्न वडालाई प्रविधिमैत्री बनाइन लागिएको छ। यसअघि कार्यालयमा सूचना तथा प्रविधि केन्द्र स्थापना गरेको अमरगढी नगरपालिकाले नगरपालिकाकै वडा नम्बर १० मा प्रविधि केन्द्रको स्थापना गरेको छ। स्थानीयलाई नगरपालिकाको सूचनाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ स्थापना गरिएको सूचना तथा प्रविधि केन्द्र(टेक्नोहव)बाट यस क्षेत्रका वडा नं १, १० र ११ गरी १ हजार घरधुरी लाभान्वित हुने बताइएको छ। यससँगै नगरपालिकाको कार्यशैलीलाइ पार्दशीता बनाउन सम्पूर्ण ११ वटै वडामा सूचना केन्द्र विस्तार गरिने अमरगढी नगरपालिकाले जानकारी दिएको छ। नगरप्रमुख विशेश्वर प्रसाद ओझाले भने–‘अमरगढी वडा नम्बर १० मा सूचना केन्द्र स्थापना भएपछि यहाँका सीमान्तकृत समुदायको उत्थान हुनेछ, स्थानीय सरकार खुला सरकार भएकाले सम्पूर्ण कार्यलाई पार्दशीता बनाइनेछ।’ यहाँ मात्र नभई अमरगढीको ११ वर्ट वडामा आफ्नै कार्यकालमा सूचना केन्द्र स्थापन गर्ने उनको भनाइ छ। प्रत्येक व्यक्ति राज्यको न्यायिक संयन्त्रभित्र रही आ–आफ्नो कार्यसम्पादन गर्नु र जुनसुकै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले समाजमा सूचनाको उचित संप्रेषण गर्नु सूचनाको हकसम्बन्धी ऐन २०६४ ले समेटेको छ। त्यसैले नगरपालिकाभित्र रहेका स्थानीय विशेषगरी सीमान्तकृत समुदाय यस सूचना केन्द्रबाट लाभान्वित हुने बताइएको छ। गाँउमै सूचना लिन सकिने भएपछि यहाँका स्थानीय हर्षीत भएका छन्। ‘हामी, हाम्रा छोरा छोरीलाई सूचना लिन अब नगरपालिका धाउन नपर्ने भएपछि एकदमै खुसी भएका छौँ’ अमरगढी नगरपालिका–१० की देवी टमटाले भनिन्–‘अब यतै इन्टरनेटको सुविधा रहेको सूचना केन्द्र स्थापना भएपछि हामीलाई फाइदा भएको छ।’ स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारबाट प्राप्त गर्नुपर्ने सूचना तथा सेवाको पहुँचमा ल्याउन स्थापना गरेको सेवा केन्द्रले स्थानीयलाई सुवीधा दिएको बताइएको छ। यसबाट आफूले चुनेका जनप्रतिनिधिको कार्यको मूल्यांन हुने ‘टेक्नोहब’ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताए। उनले भने–‘अब सबै ठाँउमा यस्तै सूचना तथा सेवा कन्द्र स्थापना गर्ने अभियान सरकारले अगाडि बढाउँछ।’ दलित समुदायको बढी बसोबास रहेको उक्त समुदायमा प्रविधि केन्द्र स्थापना भएसँगै स्थानीय सरकारले आफूले संचालन गरेका सम्पूर्ण कार्यक्रम तथा बजेटको विषयमा समेत उक्त केन्द्र मार्फत सबैलाई जानकारी दिने भएको छ। सेसी नेपालको आर्थिक सहयोग तथा अमरगढी नगरपालिका र ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराको सहकार्यमा निर्माण भएको उक्त सूचना प्रविधि केन्द्र २५ लाख बराबरको लागतामा निर्माण भएको हो। सामुदायिक सूचना प्रविधि केन्द्रमा कम्प्युटर, इन्टरनेटको सुविधा रहने छ। साथै उक्त केन्द्र स्थानीय सरकार र नागरिकहरुको बीचमा अन्तरसम्बन्ध कायम गर्ने थलोको रुपमा रहने बताइएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.