सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रौतहटमा खस्क्यो शान्ति सुरक्षा, ७ जनाको मृत्यु, पत्रकारमाथि हमला

रौतहट – रौतहटमा शान्ति सुरक्षाको स्थिति अन्यन्तै नाजुक बनेको देखिएको छ। एक हप्तामा जिल्लामा ७ वटा शव बरामद भएको छ भने पत्रकारमाथि हमला र सडक दुर्घटनामा पनि वृद्धि भएको छ। एनसेलको टाबरमा आगजनी समेत भएको छ।

शुक्रबार साँझ चन्द्रपुर नगरपालिकाको हाइवेदेखि दक्षिणतिरको जंगलमा एकजना २० वर्षीया युवतीको शव भेटिएको छ। हातमा पिके लेखिएको हरिया रंगको कुर्ता सुरुवाल लगाएकी युवतीलाई हत्या गरी फालिएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ। शनिबार बिहान घरभन्दा ४०० मिटर पूर्व चन्द्रपुर २ नर्सरी टोलकी ४२ वर्षीया सुखी देवी गौतम झुन्डिएको अवस्थामा फेला परेकी छिन्। महिलाको आत्माहत्या हो कि हत्या भनिहाल्न सजिलो नभएको छिमेकीहरूको भनाइ छ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरले आत्महत्या जस्तो देखिए पनि अनुसन्धान अगाडि बढाइएको जनाएको छ। तीन दिनअघि वृन्दावन नगरपालिकाको रमौलीस्थित बागमती नदीमा एकजना युवकको शव पानीकै छेउमा अर्धनग्न अवस्थामा भेटिएको थियो। शवको पहिचान अझै हुन सकेको छैन्। गत फागुन ६ मा चन्द्रपुर ६ झनझनी टोलका जितबहादुर परियारको शव चन्द्रपुर ४ मा भेटिएको थियो। मृत्युको कारण अझै खुल्न सकेको छैन्।

World Link Ads
Mahakali Polytechnic

यसै गरि फागुन ५ मा सर्लाहीको बागमती न.पा ५ का रामबहादुर दर्लामीको शव चन्द्रपुर १ स्थित पौराइको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। गत माघ २९ मा चन्द्रपुर २ का वसन्त भन्ने खड्गबहादुर अधिकारीको शव चन्द्रपुर ४ जंगलमा फेला परेको थियो। पाँच दिन अघिमात्र एकजना मगन्तेको शव पनि चन्द्रपुरको लमाहा जंगलमा भेटिएको थियो।

Dirghayu Ads
Sana Kishan

एक हप्तामा अस्वाभाविक मृत्यु हुने अधिकांशको पहिचान प्रहरीले गर्न सफल भएको छ तर, मृत्युको कारण भने खुलाउन सकेको छैन्। सबै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रतिक्रिया प्रहरीको हुने गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले एक हप्तामा ६ जनाको शव भेटिएको स्वीकार गर्दै अनुसन्धान भइरहेको बताउँछन्।

शुक्रबार अबेर राति चन्द्रपुरको गैँडाटारमा रहेको एनसेल टाबरमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीमा संलग्नको पहिचान प्रहरीले गर्न सकेको छैन्। जुटको बोरामा आगो लगाई फालेपछि एनसेल टाबरको तारलगायतका सामग्री जलेर सेवा अवरुद्ध भएको छ। घटनामा विप्लव समूहको संलग्नता हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए।

शुक्रबार साँझ प्रहरीको नियमित डिउटी रहने स्थानमा एकजना पत्रकारमाथि आक्रमण भएको छ। नेपाल पत्रकार महासंघ रौतहटका निलम्बित अध्यक्ष रविन्द्र साहमाथि सदरमुकाम गौरको विपी चौकमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ। साहको दाहिने हात भाँचिएको छ। जिल्ला अस्पताल गौरमा प्राथमिक उपचारपछि साहलाई वीरगंज रेफर गरिएको छ।

शुक्रबार साँझ मौलापुर इलाका प्रहरी कार्यालयको करिब एक सय मिटर भित्रै स्थानीय अवधलाल राय यादवलाई अज्ञात सवारी साधनले ठक्कर दिएको छ। यादवको अवस्था चिन्ताजनक छ। यादवको बेहोस अवस्थामा वीरगंजमा उपचार भइरहेको छ। रौतहटमा एकपछि अर्को आपराधिक घटना भए पनि प्रहरी भने शान्ति सुरक्षामा असफल देखिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपीको सरुवा भइसकेको र अर्का एसपी नआउँदाको अवस्थामा जिल्लाको सुरक्षा अवस्था तरल देखिएको हो। जिल्लामा ट्राफिक दुर्घटना पनि निकै बढेको छ। यो महिनामा जिल्ला १३ वटा सवारी दुर्घटना भई २ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.