कञ्चनपुर – चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तन र प्रकोपसम्बन्धी अनुसन्धान प्रारम्भ भएको छ। यो अध्ययन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत वातावरण विज्ञान विषयका शिक्षण सहायक तथा अनुसन्धानकर्ता महेश प्रसाद अवस्थीले यो अध्यन थालेका छन।
शुक्रबार वेदकोट नगरपालिकामा आयोजित छलफल कार्यक्रममा अनुसन्धानकर्ता अवस्थीले अध्ययनका उद्देश्यहरू र प्रमुख पक्षहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

उनका अनुसार, अध्ययनले चौधर नदी जलाधार क्षेत्रमा बसोबास गर्ने समुदायका जलवायु परिवर्तनसम्बन्धी अनुभव, प्रमुख प्रकोपहरूको पहिचान, तिनले निम्त्याएका असरहरू, स्थानीय तहमा अपनाइएका उपायहरू तथा दीर्घकालीन अनुकूलन रणनीतिहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ।
छलफल कार्यक्रममा वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट, नगर प्रवक्ता एवं वेदकोट–५ का वडा अध्यक्ष चित्र देव भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनार, वेदकोट नगरपालिकाका विपद सम्पर्क व्यक्ति सुनिल चन्द, एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्ट लगायत विभिन्न वडाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

छलफलमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले यस अध्ययनले स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरहरूसँग जुझ्न थप सशक्त बनाउने र यसका लागि आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले एनएनएसडब्ल्यूएले स्थानीय स्तरमा जलवायु उत्थानशीलता बढाउन निरन्तर काम गरिरहेको बताए।
त्यस्तै, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले चौधर नदी जलाधार क्षेत्रको यो अध्ययन नगरपालिकाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले यस अध्ययनबाट प्राप्त निष्कर्षहरूलाई नगरपालिकाको विपद व्यवस्थापन र जलवायु अनुकूलन योजनाहरूमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समुदायको सहभागितामा मात्र दिगो समाधान सम्भव हुने कुरामा जोड दिए।

यस अध्ययनले चौधर नदी जलाधार क्षेत्रमा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न, प्रकृतिमा आधारित समाधान (Nature-Based Solutions) को पहिचान र कार्यान्वयन गर्न तथा स्थानीय समुदायलाई थप सुरक्षित, सक्षम र दिगो बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post