कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’सँग भेटघाट गरी आर्थिक समृद्धिका लागि पश्चिमी नाका विस्तारमा आग्रह गरेका छन्।
माओवादीको ‘हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ समापनका लागि कञ्चनपुर पुगेका प्रचण्डसँग संघका अध्यक्ष पिताम्बर जोशी, महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, पूर्वअध्यक्ष हेमराज पाण्डेय, पूर्वसचिव गणेश चटौत, सदस्य एनपी जोशीसहितका उद्योगी–व्यवसायीहरूले भेट गरेका हुन्।
अध्यक्ष जोशीले दोधारा–चाँदनी सुक्खा बन्दरगाहको शीघ्र विस्तारका लागि प्रचण्डको ध्यानाकर्षण गराए। उनले पश्चिमी नाकाको विस्तारले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।
प्रचण्डले माओवादीको परिकल्पनाअनुरूप दोधारा–चाँदनीलाई भारतसँग जोडेर देशको समृद्धिका लागि योजना कार्यान्वयनमा प्रतिबद्धता जनाए।उद्योगी–व्यवसायीहरूले आर्थिक विकासका क्षेत्रमा ठोस कदम चाल्न र पश्चिमी नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउन जोड दिएका थिए।










Discussion about this post