कञ्चनपुर – भारतको मुम्बईमा एक दशकसम्म रिलायन्स जिओ कम्पनीमा कम्प्युटर इन्जिनियरको रूपमा कार्यरत प्रकाश सार्कीले विदेशको सुविधायुक्त जागिर छाडेर आफ्नै देशमा केही गर्ने सपना बोकेर गाउँ फर्किए। कञ्चनपुरको बेद्कोट नगरपालिका–७ पिपलचौतारामा उनले १ बिगाहा ३ कट्ठा जमिनमा ‘पति/पत्नी फलफूल बागवानी तथा तरकारी कृषि फर्म’ स्थापना गरी फलफूल र तरकारी खेती थाले। तर, उनको यो मेहनत सिचाइको चरम अभावका कारण खेर जाँदैछ।
सार्कीले लगाएका फलफूलका बिरुवा पानीको अभावमा सुक्दै गएका छन्। खेतमा माटो चर्किएको र हरियाली हराउँदै गएको दृश्य उनले खिचेका तस्बिरमा प्रस्ट देखिन्छ। “मैले देशमै स्वरोजगार बन्ने सपना देखेर मुम्बईको राम्रो जागिर त्यागे। तर यहाँ आएपछि सिचाइको समस्या समाधान गर्न सरकारी निकायका ढोका ढकढकाउँदा पनि कुनै सुनुवाइ भएको छैन,” निराश सार्कीले भने।

उनले बोरिङ वा अन्य वैकल्पिक सिचाइ सुविधाको माग गर्दै सम्बन्धित निकायमा पटक–पटक निवेदन दिएका छन्। तर, सरकारी उदासीनताले उनको आशामा तुसारापात भएको छ। “बोल्न सक्ने र पहुँच भएका किसानले सहायता पाउँछन्, तर हामीजस्ता साधारण किसानले सास्ती मात्र भोग्नुपरेको छ,” उनको गुनासो छ।

सरकारले कृषि क्षेत्रको विकास र युवाहरूलाई स्वरोजगारमा प्रोत्साहन गर्ने नीति अख्तियार गरेको दाबी गरिरहँदा सार्कीजस्ता उदाहरणले त्यसको प्रभावकारितामाथि प्रश्न उठाएको छ। सिचाइको उचित प्रबन्ध नहुँदा उनको खेती मात्र होइन, देश फर्कने युवाहरूको भविष्य पनि सङ्कटमा पर्ने जोखिम बढेको छ।
विज्ञहरूका अनुसार, सिचाइ सुविधाको अभाव नेपालको ग्रामीण कृषिमा लामो समयदेखिको समस्या हो। यस्तो अवस्थामा सरकारले तत्काल कदम नचाले प्रकाशजस्ता मेहनती युवाहरू फेरि विदेश पलायन हुन बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्। “यो एउटा व्यक्तिको मात्र कथा होइन, यो त देशभरका गाउँ फर्किएका युवाहरूको साझा पीडा हो,” सार्की भन्छन्, “हामीलाई सहयोग चाहिएको छ, हौसला मात्र होइन।”

सम्बन्धित निकायले यस्ता समस्याप्रति गम्भीर ध्यान नदिएमा सरकारको स्वरोजगार र कृषि क्रान्तिको नारा केवल कागजी घोषणामा सीमित हुने देखिन्छ। प्रकाशको गुहारले अब सरकारको परीक्षा लिने बेला आएको छ– के वास्तवमै देश फर्किएका युवाको सपना जोगाउन सकिन्छ?









Discussion about this post