कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बाट प्रकाशित हुँदै आएको आभाष कुञ्ज दैनिकले आफ्नो ९ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ भने अग्रज पत्रकार माधव सिंह धामीलाई सम्मान स्वरूप नगद ५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

वि.सं. २०७३ चैत्र २१ गतेबाट सञ्चालनमा आएको आभाष कुञ्ज दैनिकले जनताको आवाजलाई निरन्तर उठाउँदै आएको छ । स्थापनाकालदेखि नै विभिन्न आरोह–अवरोहको सामना गर्नुपरेको प्रकाशक मनोज भट्टले बताए । “जस्तोसुकै परिस्थिति आए पनि जनतालाई निष्पक्ष र सही सूचना तथा समाचार प्रदान गर्न म सधैँ तयार छु,” उनले भने ।

वार्षिकोत्सव समारोहको प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी उपस्थित थिए । प्रमुख अतिथि बोगटीले आभाष कुञ्ज दैनिकलाई शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गरे । “पत्रिकाको उज्ज्वल भविष्यको कामना गर्दछु । पत्रकारिता पेसालाई थप मजबुत र प्रभावकारी बनाउन हामी सबैले आ–आफ्नो भूमिका खेल्नुपर्छ,” उनले भने, “आभाष कुञ्ज दैनिकले जिल्लामा व्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार र ढिलासुस्तीविरुद्ध निरन्तर कलम चलाउँदै आएको छ । यो अभियान पत्रिकाले निरन्तरता दिनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।”

कार्यक्रममा सहभागीहरूले आभाष कुञ्ज दैनिकको निष्पक्ष पत्रकारिताको प्रशंसा गर्दै आगामी दिनमा पनि जनहितमा कार्य गर्न प्रेरणा दिएका थिए।










Discussion about this post