अति कोमल फूल टिपी जनको
कति नेत्र उदास हरे मनको ।
परिवार रहु कि रहु अलगै
तारिवार भई सजिने बहुतै ।।
बुझुँ ज्ञान कि दीक्षक को पहिला ?
रुजु भाग अनेक परे गहिला ।
रहरी सपना विपना डरको
सहरी दुनियाँ जहरै घरको।।
भन पाउ कहाँ तिर चालु सँधै ?
गन घाउ सबै कति छोपु अझै ?
म हुँदै बुन नाम सजाय भनी
गर काम म माथि पराय सरी ।।
उडु मस्त परी भरुँ यो गगनै
तर उड्न परे गुनासो सबकै ।
लगु रङ्ग सबैतिर खै कसरी
थु! गरे अपराध हु मै जसरी।।
बहिरो मनको म सिकार बने
दिन आउँछ हेर भनी म बसे।
गरिबै छन सोच भएर धनी
मृतुकै दिनमा पुजिने मपनि ।।
बबिता कार्की
कञ्चनपुर