कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल भीमदत्त नगर कमिटिको आयोजनामा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। सोमबार एनप्याब्सन भीमदत्त नगर कमिटीले उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको हलमा उक्त प्रतियोगिताको आयोजना गरेको थियो।
प्रतियोगितामा भीमदत्त नगरका १२ वटा विद्यालय सहभागी भएको एनप्याब्सन भीमदत्त नगर कमिटीका अध्यक्ष दिज राज भट्टले बताएका छन्। प्रतियोगितामा लिटिल बुद्ध एकेडेमी प्रथम, ज्ञानदीप विद्या मन्दिर द्वितीय, महाकालि मोडर्न पब्लिक स्कुल तृतीय भएको छ भने फ्लोरिडा इन्टरनेसनलले सान्त्वना स्थान प्राप्त गरेको एनप्याब्सन भीमदत्त नगर कमिटीका अध्यक्ष भट्टले जानकारी दिएका छन्। प्रतियोगितामा सुदूरपश्चिमको मौलिकता झल्काउने नृत्य प्रस्तुत गरिएको अध्यक्ष भट्टले बताएका छन्।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालयलाई क्रमश रू ७ हजार, ५ हजार, ४ हजार र २ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा सहभागि विद्यालयहरूलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको एनप्याब्सन भीमदत्त नगर कमिटीका सचिव तर्कराज भट्टले बताएका छन्।
पुरस्कार वितरण कार्यक्रममा एनप्याब्सन भीमदत्त नगर कमिटीका अध्यक्ष दिज राज भट्टको सभापतित्व रहेको थियो भने भीमदत्तका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य रहेको थियो।
एनप्याब्सन भीमदत्त नगर कमिटीका सचिव तर्कराज भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष श्याम सिह मौनी, प्रदेश सचिव बिर बहादुर चन्द, एनप्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेव भट्ट, निवर्तमान जिल्ला अध्यक्ष झंकर राज जोशी लगायतको उपस्थिति रहेको थियो।