सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरीका सेवा निवृत्त शिक्षक लच्छि चन्दमाथि ढुङ्गा प्रहार गरी हत्या गर्ने भण्डारी पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक अन्दाजी ६५ वर्षीय लच्छि चन्दमाथि ढुङ्गा प्रहार गरी हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चन्द माथि ढुङ्गा प्रहार गरी हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ घरभई तीन दिनयता बेलौरी स्थित विद्यानगर बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको हो ।

उनलाई बेलौरीकै दुम्ली स्थित बाटोमा राखिएको ट्रलीमाथि लुकीछिपी सुतिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी (बजगाईँ) ले जानकारी दिनुभयो । घटना लगत्तै व्यापक रूपमा प्रहरी परिचालन गरी खोजिकार्य गरिए पनि कुनै पत्तो नलाग्दा राति ३ बजेतिर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान गर्दा अभियुक्तलाई बिहान ४:३० बजेतिर समातिएको उहाँले बताउनु भयो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनामा राखिएको छ ।

छोराको उपचारका लागि धनगढी आएका भण्डारी छोराको मृत्युपछि बेलौरीस्थित आफ्ना दाजुको घरमा बस्दै आएकोमा बुधबार बेलुका बेलौरी बजारदेखि विद्यानगर फर्किने क्रममा मदिरा सेवन गरेकोले उनकी भतिजीले टेकाएर लगिरहेको देखेपछि पछाडि पछाडि रहनु भएका चन्दले छिमेकी किशोरीलाई अपरिचित व्यक्तिले अङ्गालो हालेर अस्वाभाविक रूपमा हिँडिरहेको ठानी गाउँ समाजमा यसरी हिँड्नु राम्रो होइन भनेर सम्झाउँदा उक्त घटना भएको अभियुक्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बेलौरी बजारदेखि विद्यानगर स्थित आफ्नो घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घरभन्दा करिब ३०० मिटरको दुरीमा भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको बताइएको छ । घटना लगत्तै घाइते हुनु भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले चन्दलाई मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ । उक्त घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Mahakali Polytechnic

 

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.