कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका -०३ दैजिस्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
मोटरसाइकलको ठक्करबाट म १ प ५२८२ नम्बरको मोटरसाइकलमा सवार मोटरसाइकल चालक वेदकोट नगरपालिका –०२ का २६ वर्षीय श्रीधर नाथको बुधवार दिउँसो मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाईते भएका मोटरसाइकल पछाडि सवार सोही ठाउँका ५५ वर्षीय रामबहादुर मिजार, विपरीत दिशाबाट आइरहेको म २ प ३५५६ नम्बरको मोटरसाइकल चालक वेदकोट नगरपालिका –०३ का २५ वर्षीय नवीन टमटा र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २६ वर्षीया कविता टमटा पनि घाइते भएका छन्।
घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।










Discussion about this post