कञ्चनपुर – नेपाल बाल संगठन (बाल मन्दिर) को जमिनमा बस्दै आएका स्थानीयले आफूहरू अतिक्रमणकारी नभएको बताएका छन । बाल संगठन कञ्चनपुरले आफ्नो जमिन खाली गराउनका लागि प्रशासनसँग आग्रह गरेर १४ चैत्रमा सूचना जारी गरेपछि (बाल मन्दिर) को जमिनमा बस्दै आएका स्थानीयले आफूहरू अतिक्रमणकारी नभएको
बताएका हुन् ।

बाल मन्दिरको जमिनका बस्दै आएका खोक्रा छाप्रा संघर्ष समितिले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफूहरू अतिक्रमणकारी नभएको बताएका छन । खोक्रा छाप्रा संघर्ष समितिका संयोजक डम्बर बहादुर खड्काले बाल सङ्गठनले एक्कासि छापामारशैलीमा सूचना जारी गरेर आफूहरूलाई अतिक्रमणकारीको संज्ञा दिएकोमा आपत्ति प्रकट गरे ।
संयोजक खड्काले आफूहरू २०५४ सालदेखि सम्झौता गरेर नै उक्त जमिनमा बस्दै आएको र ०६४ सालदेखि सम्झौता नगरेपनि आफूहरूले भाडा तिर्दै आएको बताए । ‘हामी बाल संगठनको जमिनमा खोजी खोजी आएका होइनौँ, ‘उनले भने, ‘बाल सङ्गठनले नै हामीलाई जमिन दिएर भाडामा बसालेको हो, अहिले अतिक्रमणकारी भनिरहेका छन्, तर हामी होइनौँ ।’
उतिबेलै बाल सङ्गठनले जमिन लिजमा लिएर आफूहरू बसेको बताउँदै उनले आफूहरूमाथि घात भएको बताए ।
‘हामीसँग सम्झौता नगर्ने तर सार्कदेखि अपि फर्निचरलाई भने भाडामा लिएको छ, ‘उनले भने, ‘निमूखा माथि अन्याय ठुला माथि न्याय भएको छ ।’ उनले वास्तविक सरकारी, सार्वजनिक अतिक्रमण भएको जमिन खाली गराउनुपर्ने बताए ।
‘अन्यतिर अतिक्रमण भएको जमिन हटाएर हामी स्वत हट्छौँ, ‘उनले भने, ‘पहिल्यै हामीमाथि अन्याय नहोस् ।’ अर्का स्थानीय जित बहादुर बमले बाल सङ्गठनले आफूहरूलाई हटाएर त्यहाँ सटर बनाउने योजना भएकाले अन्याय भएको बताए । ‘पैसा हुनेलाई फेरिपनि सटर दिने तयारी छ, ‘उनले भने, ‘अहिले हामीमाथि अन्याय भइरहेको छ ।’
बाल सङ्गठनकै जमिन २५ वर्षदेखि बस्दै आएका अर्जुन कडरियाले बाल सङ्गठनले नै आउ बस भन्दै बसालेर अहिले आएर अन्याय गरिरहेको बताए । ‘त्यही बाल सङ्गठनको जमिनमा बनेका संरचना भाडामा लिइएका छन्, ‘उनले भने, ‘हामीमाथि मात्रै किन एक्सन भयो ।’
कञ्चनपुरका राजनीतिक दलहरूले समेत बाल संगठनको जमिन लिजमा लिएर अहिले जंगी शासनमा उठान खोजेको भन्दै शुरुमा नगरविकास समितिको अतिक्रमणकारीमाथी एक्सन हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनीले सरकारले वास्तविक अतिक्रमण गरेको जमिन खटाउन एक्सनमा जानुपर्ने बताए । ‘यही हाम्रै भीमदत्त नगरमा पनि थुप्रै सरकारी जमिन अतिक्रमण भएको छ, ‘उनले भने, ‘पहिले नगर विकास समितिको जमिनमा रहेका अवैधानिक संरचना हटाउनुपर्छ, बाल मन्दिरमा रहेका सबै संरचना हटाएपछि मात्रै खोका छाप्राको पनि हटाउनुपर्छ ।’
अहिले गरिखाने मजदुर हटाएर आफू निकटलाई सटर बनाएर दिए त्यो मान्य नहुने बताउँदै उनले विकल्प र समय दिनुपर्ने बताए ।
नेकपा एमाले जिल्ला सदस्य रामचन्द्र रेग्मीले अतिक्रमण हटाउने नाममा निमुखामाथि प्रहार गर्न नहुने भन्दै उनले बाल सङ्गठनले नै बस्न दिएका स्थानीयमाथि अन्याय गर्न नहुने बताए । ‘पैसा हुने अपि फर्निचर, सार्क स्कुललाई २०-२० वर्षका लागि भाडामा दिने अनि गरिखाने गरिब मजदुरमाथि अन्याय गर्ने यो हाम्रो पाटीलाई स्वीकार्य हुँदैन, ‘उनले भने, ‘यस विषयमा सबै निकाय जिम्मेबार हुनुपर्छ ।’
नेकपा माओवादीका नेता पदमराज जोशीले बाल सङ्गठनले नै दिएको जमिनमा बस्दा अतिक्रमणकारीको बिल्ला भिराउने काम निन्दनीय भएको बताए । नेता जोशीले निमुखा जनतामाथि अन्याय गर्न नहुने र वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि डन्डा बजाउनुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुँवरले वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि एक्सन गर्नुपर्नेमा सम्झौता अनुरूप सरकारी निकायले नै बसालेका जनतालाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल बाल सङ्गठनका अध्यक्ष राम बहादुर बुढाले उक्त जमिन बाल संगठनको योजना अनुरूप बाल उद्यान बनाउनका लागि खाली गर्न लागेको बताए । ‘सार्क र अपिको छुट्टै समस्या हो, ‘उनले भने, ‘खोका छाप्राको सम्झौता सकिएको हो, अपि र सार्कको बाँकी छ ।’









Discussion about this post