चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा चालु खाता घाटामा सुधार आएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार अघिल्लो आर्थिक वर्षको नाै महिनामा पाँच खर्ब १० अर्ब रुपैयाँले घाटामा रहेको चालु खाता अहिले झन्डै ५२ अर्ब रुपैयाँले मात्रै घाटामा छ ।
यस्तै वैदेशिक लगानीमा भने ठूलो कमी आएको छ । गएको वर्षको नौ महिनामा १६ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएकोमा अहिले जम्मा दुई अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । यस्तै विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गएको चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत विन्दुले बढी देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च एक खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन छ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले, कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो । उज्यालो अनलाइन बाट साभार









Discussion about this post