काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ।
पौडी र शारीरिक सुगठन प्रतियोगिताको संयुक्त नतिजाअनुसार बागमती प्रदेश १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदकसहित शीर्ष स्थानमा रहेको छ।
पौडी प्रतियोगितामा ४६ स्वर्णसहित कुल १४० पदकका लागि प्रतिस्पर्धा भएको थियो। जसमा बागमती प्रदेशले सर्वाधिक १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो। त्यसैगरी शारीरिक सुगठनमा पनि बागमतीले एक पदक जितेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदकसहित दोस्रो स्थानमा रहेको छ। एनआरएनएले प्राप्त गरेका सबै पदक पौडी प्रतियोगिताबाट जितेको हो।
विभागीय टोली त्रिभुवन आर्मी क्लब कुल ४४ पदकसहित तेस्रो स्थानमा छ। आर्मीले १० स्वर्ण, १७ रजत र १७ कांस्य जितेको छ। कुल पदक सङ्ख्यामा सबैभन्दा अगाडि रहे पनि स्वर्ण पदकका आधारमा आर्मी तेस्रो स्थानमा रहेको हो। आर्मीले पौडीमा ७ र शारीरिक सुगठनमा ३ स्वर्ण जितेको छ।
नेपाल पुलिस क्लब ८ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ४० पदकसहित चौथो स्थानमा रहेको छ। पुलिसले पौडीमा ६ र शारीरिक सुगठनमा २ स्वर्ण जितेको छ।
अन्य टोलीमध्ये कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ स्थानमा छ। सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेको छ। त्यस्तै, एपीएफ क्लब २ स्वर्णसहित सातौँ स्थानमा छ।
लुम्बिनी प्रदेशले २ रजत र २ कांस्य, गण्डकी प्रदेशले १ रजत र २ कांस्य तथा मधेश प्रदेशले १ कांस्य पदक जितेका छन्।
प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेशले भने अहिलेसम्म पदक जित्न सकेको छैन।










Discussion about this post