काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया सहज बनाउने घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा १७ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना सम्झौताको पर्खाइमा रहेका छन्। सरकारले गठन भएको १८० दिनभित्र विचाराधीन पीपीए र अनुमतिपत्रसम्बन्धी निर्णय गर्ने प्रतिबद्धता जनाए पनि आठ महिना पुग्न लाग्दासमेत आवश्यक मापदण्ड तयार हुन सकेको छैन।
सरकारले चैत १४ गते सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा १८० दिनभित्र विचाराधीन सबै पीपीए र अनुमतिपत्रसम्बन्धी विषय टुंग्याउने उल्लेख गरेको थियो। त्यस्तै, चालु आर्थिक वर्षको बजेटमा ‘टेक अर पे’ प्रावधानअन्तर्गत १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए तत्काल गर्ने घोषणा गरिएको थियो। तर, बजेट सार्वजनिक भएको चार महिना बितिसक्दा पनि उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। तर, नयाँ आयोजना अघि बढाउन आवश्यक पीपीए प्रक्रियामै अन्योल कायम छ।
उपसमिति गठन भए पनि मापदण्ड तयार भएन
भदौ ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए मापदण्ड तयार गर्न उपसमिति गठन गरेको थियो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिलाई सात दिनभित्र मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्न कार्यादेश दिइएको थियो। तर, करिब तीन महिना बितिसक्दा पनि समितिले मापदण्डलाई अन्तिम रूप दिन सकेको छैन।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार हाल १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तमभ्लोन लामाले सरकारी निकायबीच फरक–फरक बुझाइ र निर्णय प्रक्रियामा देखिएको ढिलाइका कारण ऊर्जा क्षेत्रको लगानी जोखिममा परेको बताए।
उनका अनुसार पीपीए प्रक्रिया अघि नबढ्दा ऊर्जा उत्पादकहरूले आयोजना निर्माण तथा लगानी व्यवस्थापनमा समस्या भोगिरहेका छन्। इप्पानका अध्यक्ष मोहन डाँगीले पनि पीपीए खुलाउन ढिलाइ हुनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
निजी क्षेत्रको असहमतिपछि मस्यौदा पुनर्लेखन गर्ने सहमति
केही साताअघि प्राधिकरणले तयार पारेको पीपीए मापदण्डको प्रारम्भिक मस्यौदा अनौपचारिक रूपमा सार्वजनिक भएको थियो। निजी क्षेत्रको प्रतिक्रिया बुझ्ने उद्देश्यले बाहिर ल्याइएको उक्त मस्यौदाप्रति ऊर्जा उत्पादकहरूले असहमति जनाएका थिए।
इप्पान कार्यसमितिले प्रस्तावित प्रावधानले पीपीए प्रक्रियालाई व्यवस्थित बनाउनुको सट्टा थप जटिल बनाउन सक्ने निष्कर्ष निकालेको थियो। त्यसपछि इप्पान अध्यक्ष डाँगीसहितको टोलीले ऊर्जामन्त्री श्रेष्ठसँग भेट गरी मस्यौदाप्रति असहमति जनाएको थियो।
मन्त्रीसँग तीनदेखि चार घण्टासम्म भएको छलफलपछि उक्त प्रारूप तत्काल अघि नबढाउने र निजी क्षेत्रसँगको परामर्श तथा सहमतिमा पुनर्लेखन गर्ने समझदारी भएको अध्यक्ष डाँगीले जानकारी दिए।
उनका अनुसार निजी क्षेत्रको धारणा र सहमतिबिना मापदण्ड पारित नगर्ने मन्त्रीको प्रतिबद्धता छ। अब सरोकारवालासँग छलफल गरेर मात्रै नयाँ मापदण्ड तयार गरिनेछ।
यस्तो थियो प्रस्तावित मापदण्ड
प्राधिकरणले तयार पारेको विवादित मस्यौदामा पीपीएका लागि न्यूनतम योग्यता परीक्षणसहित १०० पूर्णांकको मूल्यांकन प्रणाली प्रस्ताव गरिएको थियो। आयोजनालाई प्राप्त अंकका आधारमा ‘ए’ देखि ‘डी’ वर्गसम्म वर्गीकरण गर्ने व्यवस्था मस्यौदामा समेटिएको थियो।
प्रस्तावित मूल्यांकनमा प्रणालीगत योगदान र प्रसारण पूर्वाधारको अवस्थालाई ३०–३० अंक, जोखिम बाँडफाँटलाई २५ अंक तथा आयोजनाको तयारी, जलवायु उत्थानशीलता र रणनीतिक महत्त्वलाई पाँच–पाँच अंक दिने उल्लेख थियो।
त्यस्तै, सुक्खायाममा कम्तीमा ३० प्रतिशत ऊर्जा उत्पादन गर्नुपर्ने, वर्षायामको ‘टेक अर पे’ हिस्सा घटाउने आयोजनालाई बढी अंक दिने तथा कमजोर कार्यसम्पादन भएका र अनुमतिपत्र किनबेचमा संलग्न प्रवर्द्धकलाई नकारात्मक अंक दिने प्रस्ताव गरिएको थियो।
मस्यौदाअनुसार ८० देखि १०० अंक प्राप्त गर्ने आयोजनालाई ‘ए’ वर्गमा राखेर प्राथमिकता दिने, ६५ देखि ७९ अंक ल्याउनेलाई सर्तसहित पीपीए गर्ने र ५० अंकभन्दा कम ल्याउने आयोजनासँग पीपीए नगर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। तर, उच्च अंक प्राप्त गर्ने आयोजनाले समेत स्वतः पीपीएको अधिकार नपाउने प्रावधानले निजी क्षेत्रलाई थप सशंकित बनाएको थियो।…










Discussion about this post