पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता असमान रहेको बताएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै गौतम एमसीसी सम्झौतामा नेपाललाई सबै हिसाबले अपमानित हुनेगरी तल पारिएको, परियोजनामा नेपालको लगानीलाई मूल्यहीन बनाइएको र सबै विषयमा एमसीसीलाई अग्राधिकार दिइएको भन्दै नेपाल अमेरिकाको अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनतामै गम्भीर आँच पुग्ने गरी, असलग्न परराष्ट्र नीतिकोसमेत धज्जी उडाउने गरी एमसीसी परियोजना ल्याइएको उनको ठहर छ ।
यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारबाही गरेर छोड्ने गौतमले उल्लेख गरेका छन् ।
‘टोपी हातले समाउँदै एमसीसीलाई सकी नसकी बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ,’ गौतमले चेतावनी दिएका छन् ।
जनचाहना विपरीत एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली खुलेर लागेको भन्दै गौतमले उनीहरुलाई जनताले दण्डित गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
उनले एमसीसी फिर्ता लैजान अमेरिकालाई पुन आग्रह गरेका छन् । ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । तर हुन सकेन । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
एमसीसी फिर्ता लगे अमेरिका र नेपालबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने वामदेवको विश्वास छ । अन्नपूर्ण पोस्ट बाट सभार











Discussion about this post