नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मा सबैको दलको सक्रिय सहभागिता रहेको बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महतले नेपालले नै निवेदन दिएर एमसीसी आएको र अहिले ल्याउनेहरुले नै राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको टिप्पणी गरे ।
माओवादीको सरकारमा बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा एमसीसी कुरा अघि बढेको उनले स्मरण गराए । ‘त्यसपछि झलनाथजी, ओलीजी, सुशील कोइराला, प्रचण्ड, हाम्रो सभापति देउवाजी सहभागी हुनुभयो । भीम रावलजी पनि सक्रिय सहभागी हुनुहुन्छ । ओलीले नै सदनमा पारित गराउनुपर्ने कुरा राखेका हुन् । मन्त्रिपरिषदबाट पारित गरेर अनुमोदन गरियोस् भनेर संसदमा दर्ता गराउनुभयो,’ उनले भने, ‘सम्पूर्ण नेताहरु, दलहरु जो आज विरोधमा ती कोही पनि अछुतो छैन ।’
कांग्रेसले सत्तामा हुँदा एउटा सत्तामा नहुँदा अर्को कुरा नगर्ने उनको भनाइ छ । ‘सत्तामा हुँदा पनि नहुँदा पनि कांग्रेसको धारणा एउटै हो,’ उनले भने ।
दलहरु विभाजित भए पनि ढिलो गरी टेबल हुनु सकारात्मक भन्दै महतले फागुन १२ गते छलफल गर्ने र निर्णयार्थ पेश गर्ने सहमति भएको बताए । ‘नेपालको हितमा छ भन्ने सबै दलहरुको निष्कर्षका साथ यहाँसम्म आइपुगेको हो । हामी चाहन्छौ यो पास हुनुपर्छ,’ उनले भने, ‘यो अनुदान क्षेत्र हो । विद्युत र सडक निर्माण हामीले तोकेको यो हाम्रो आवश्यकता हो । सडक र विद्युत बन्दा राष्ट्रघात हुने भन्दा अचम्म लागेको छ ।’
सैन्य प्रयोजनमा खर्च गर्न नपाउने एमसीसी सम्झौतामै लेखिएको भन्दै उनले प्रश्न गरे, ‘यहाँ सैनिक कसरी आउँछ ? अमेरिकाको काम छैन र ? किन आउँछ ? ५० देशमा एमसीसी गइसकेको छ । कही पनि सेना गएको छैन । नेपालमा सेना आउँछ आउँछ भन्छन् ।’
महतले एमसीसीजस्तो सहयोग जुनसुकै देशले दिए पनि आँखा चिम्लेर स्वीकार गरिने बताए । ‘हाम्रो सबै देशसँग सम्बन्ध हुन्छ । कुनै देश विशेषमात्रै गयो भने दुर्भाग्य हुन्छ । विचारधाराका आधारमा सहायता लिने होइन । राष्ट्रिय स्वार्थ र आवश्यकताका आधारमा राख्ने हो । हामीले एउटै मापदण्डका आधारमा विदेश सहयोग लिनुपर्छ । एमसीसीजस्तै सहयोग अर्को देशले दिने हो भने आँखा चिम्लेर लिनुपर्छ,’ उनले भने । अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post