सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशमा पानी बेच्ने गृहकार्यमा सरकार, १३ वटा मुहान भेटिए

असार २ गते
२ असार, काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो ।

विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका क्रममा १३ वटा क्षेत्रमा यस्तो सम्भाव्यता देखिएको विभागका महानिर्देशक सुनिल दासले अनलाइनखबरलाई बताए ।

विज्ञहरुसँग सुझावका आधारमा विभिन्न हिमाली तथा पहाडी क्षेत्रका गाउँपालिकाहरुमा त्यस्तो पानी उत्पादन गर्ने उद्योग खोल्न सकिने उनको भनाइ छ । ‘पहिचान भएका क्षेत्रको उद्योग खोल्न गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन चाँडै सुरु गर्छौं,’ दासले भने, ‘अध्ययन सकिएपछि निजी क्षेत्रलाई सम्भावित स्थानमा लगानी गर्न प्रोत्साहित गरिन्छ ।’

हिमालबाट बग्दै आएको पानीलाई हिमाली क्षेत्रमा नै भरेर विदेश पठाउने योजना रहेको उनले सुनाए । यो काम गर्न सकिए नेपालको ब्यापार घाटा घटाउन मद्धत पुग्ने उनको दावी छ ।

Mahakali Polytechnic

हाल अजेयराज सुमार्गी स्वामित्वको ‘हिमालय वन-टप’ कम्पनीले रसुवाबाट उत्पादित पानी विदेश निर्यात गरिरहेको छ । यो कम्पनीले लाङटाङ क्षत्रेको पानीलाई सामान्य प्रशोधन गरेर युरोप पठाउँछ । हिमाली क्षेत्रको पानी विदेशका तारे होटलहरुमा धेरै खोजिन्छ ।

World Link Ads

नेपालकै तारे होटलहरुमा पनि यस्तो पानीको माग उच्च छ । स्वदेशी उत्पादनबाट माग पूर्ति हुन नसक्दा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

Sana Kishan

हाल बिभागले गरेको अध्ययनमा हिमाली क्षेत्रमा यस्ता पानी उद्योग खोल्न उपयुक्त मुहानहरु भेटिएको छ । कन्चन्जंगा, सगरमाथा, अपी, लाङटाङ, अन्नपूर्ण लगायतका हिमश्रृंखला र संरक्षण क्षेत्रभित्र यस्तो पानी उद्योगको प्लान्ट लगाउन सकिने देखिएको छ ।

यस्ता क्षेत्रहरुमा उद्योगका लागि पहुँचमार्ग पुर्‍याउन भने कठिन हुने देखिएको महानिर्देशक दासले बताए । ‘अब स्थलगत अध्ययनबाट थप विषयहरु पत्ता लाग्छन्, अवसर र चुनौती के-के छन् भन्ने कुरा प्रस्तावित स्थलहरुमा गएर हेरेपछि नै भन्न सकिन्छ,’ उनले भने ।

उनले नेपालको हिमालय क्षेत्रको पानी विदेश निर्यात गर्नेबारे नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय भइरहेको बताए । ‘हामीले अध्ययन गरेपछि निजी क्षेत्रलाई यो काममा प्रोत्साहित गर्छौं,’ दासले भने, ‘अहिले पनि निजी क्षेत्रका अनुभवी उद्योगीसँग हामी छलफलमा र्छौं । यसमा निजी क्षेत्रको लगानी आवश्यक हुन्छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ब्यापार घाटा घटाउन यसलाई एउटा रणनीतिक योजनामा रुपमा अघि सारेको छ । उसले तयार गरेको व्यापार घाटा न्यूनीकरण रणनीतिमा हिमाली क्षेत्रको पानीलाई निर्यात प्रवर्द्धन गर्न सकिने वस्तुको सूचीमा राखेको छ ।

हाल नेपालमा आयात भइरहेको प्रसोधित पानीलाई रोक्दै नेपालमै सोही गुणस्तरको पानी उत्पादन गर्ने लक्ष्य पनि लिइएको छ । यस्तो पानीलाई विदेशी बजारसम्म निर्यात गर्न सहुलियत र सहजीकरण गर्ने नीति बाणिज्य मन्त्रालयको छ । खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न विधेयकमा पनि पानीलाई बिजुली जस्तै निर्यात गर्न सकिने उल्लेख छ ।

खानेपानीमा निजी क्षेत्रलाई पनि समावेश गराउने गरी आएको विधेयकमा नै पानीलाई निर्यातजन्य वस्तु बनाउन सकिने स्पष्ट व्यवस्था गरिएको छ । यसका कारण भविष्यमा पानी निर्यात गर्दा पर्ने सक्ने कानुनी व्यवधानहरु पनि फुकाउन सहज हुनेछ ।

‘हामी विदेशमा कस्तो गुणस्तरको पानीको माग छ भनेर पनि अध्ययन गर्दैछौं । विदेशी बजारहरु कुन-कुन हुन सक्छन् भनेर पनि प्रतिवेदनमा उल्लेख गर्छौं,’ खानेपानी विभागका महानिर्देशक दासले भने, ‘सबै खालका नीतिगत र कानुनी व्यवस्थाहरु गर्दै ठूलो मात्रामा पानी निर्यात गर्नका लागि उचित वातावरण तयार गर्ने सरकारको लक्ष्य हो ।’

नेपालको हिमाली क्षेत्रको पानी आयात गर्न खाडी देशहरुले बढी चासो देखाएका छन् । यसै विषयमा खानेपानी मन्त्री बिना मगरसँगको छलफलमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलले औपचारिक छलफल नै गरेका थिए ।

नेपालका हिमनदीको पानीलाई कतार लैजाने वातावरण तयार गर्न उनले मन्त्री मगरसँग आग्रह गरेका थिए । राजदूत हेलले नेपालको खानेपानी मानव स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार तयार गरेर निर्यातको योजना बनाउन मन्त्रालयलाई सुझाव दिएका थिए ।

यसै छलफलपछि मन्त्री मगरले दासको संयोजकत्वमा अध्ययन समिति बनाएकी थिइन् । यसैका आधारमा नेपालमा हिमनदी र प्राकृतिक मुहानहरुको अध्ययन सुरु भएको थियो ।

यो अध्ययनपछि यस्तो पानी उत्पादन र निर्यातको क्षमतासहित गुणस्तर र सम्भावित मूल्यको प्रराम्भिक आंकलन गर्न सकिने छ ।

योजना अनुसार काम गर्न सके हिमनदीबाट बगेर जाने पानीलाई पैसामा रुपान्तरण गर्न सकिने खानेपानी मन्त्रालयको विश्वास छ । नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्व (मिनरल्स) हरु हुन्छन् । त्यसैले विदेशमा यस्तो पानीको माग उच्च रहेको वाणिज्य मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.