काठमाडौँ : जन्मजात तथा वंशाणुगत रोगको समयमै पहिचान गरी शिशुको स्वास्थ्य जोखिम कम गर्न नवजात शिशु स्क्रिनिङ सेवा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। तर नेपालमा अझै पनि यो सेवा अधिकांश नवजात शिशुको पहुँचमा पुग्न सकेको छैन।
नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ साल असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ।
अस्पतालमा हाल जन्मजात थाइराइड, जी–६–पीडी र सिस्टिक फाइब्रोसिससहित सात प्रकारका रोगको परीक्षण हुँदै आएको छ।
अस्पतालका अनुसार हालसम्म १५ हजार शिशुको परीक्षण गर्दा १६५ जनामा रोगको आशङ्का गरिएको छ भने ५० जनाभन्दा बढीमा रोग पुष्टि भएको छ।
वार्षिक करिब २४ हजार शिशु जन्मिने यस अस्पतालमा समेत सबै नवजात शिशु परीक्षणको दायरामा आउन सकेका छैनन्। अभिभावकमा पर्याप्त जनचेतनाको अभाव र सुत्केरी भएको केही समयमै अस्पतालबाट डिस्चार्ज हुने प्रवृत्तिले परीक्षणको पहुँच विस्तारमा चुनौती थपेको छ।
जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान हुन नसके शिशुको शारीरिक र मानसिक विकासमा गम्भीर असर पर्न सक्छ। कतिपय अवस्थामा यस्ता रोगका कारण शिशुको ज्यानसमेत जोखिममा पर्न सक्छ।
चौथो नेपाल बहुसूचक सर्वेक्षणअनुसार नेपालमा प्रत्येक एक हजार जीवित जन्ममध्ये १७ नवजात शिशुको मृत्यु हुने गरेको छ।
सन् २०३० सम्म नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा १२ मा झार्ने दिगो विकास लक्ष्य पूरा गर्न सरकारले नवजात शिशु स्क्रिनिङ सेवा देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरेको छ।
यसका लागि नमुना सङ्कलन प्रणालीलाई प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ।










Discussion about this post