महेन्द्रनगर : स्वर्गीय पत्रकार राजेन्द्र विष्टको शोकसन्तप्त परिवारलाई क्रियाखर्चका लागि ७१ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको अगुवाइमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम बिहीबार विष्टका बुवा जयबहादुर विष्टलाई हस्तान्तरण गरिएको हो।
४२ वर्षीय पत्रकार विष्टको बिहीबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनपछि शोकमा रहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।
संकलित रकम प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका अध्यक्ष मदन गिरी, जिल्ला इन्चार्ज देवराज साउँद, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर छत्याल र सह–इन्चार्ज श्याम भट्टलगायतले परिवारलाई हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरणका क्रममा उपस्थित पत्रकारहरूले दिवंगत विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
सहयोग अभियानमा सुदूरपश्चिम तथा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेसहित केन्द्रीय पदाधिकारी तथा सदस्य र अन्य प्रेस संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैबीच, नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टसहित प्रेस चौतारी नेपालका नेता तथा पत्रकारहरूले पनि विष्टको निवासमै पुगेर परिवारजनलाई भेट्दै समवेदना व्यक्त गरेका छन्। नेता भट्टले दिवंगत विष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई सान्त्वना दिएका थिए।
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका सचिव धनबहादुर बोहराले पत्रकारहरूबीचबाट स्वेच्छिक रूपमा सानो–सानो रकम संकलन गरी एकमुष्ट सहयोग हस्तान्तरण गरिएको बताए।
उनले छोटो समयमै अग्रज पत्रकार तथा सहकर्मीहरूबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। साथै सहयोग संकलन अभियान अझै जारी रहेकाले आगामी दिनमा प्राप्त हुने थप रकमसमेत परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए।
२०६० सालको सुरुवाती दशकमा अभियान दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका विष्टले अपि टुडेका सम्पादकका रूपमा समेत काम गरेका थिए। त्यसपछि उज्यालो रेडियो नेटवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) लगायत सञ्चारमाध्यममा रहेर उनले पत्रकारितामा योगदान पुर्याएका थिए।
राससमा डेस्क सम्पादकका रूपमा कार्यरत विष्ट समाचार लेखन, सम्पादन तथा सम्प्रेषणमा सक्रिय थिए। लामो समय पत्रकारिता क्षेत्रमा समर्पित रहेका उनको असामयिक निधनले नेपाली पत्रकारिता जगत्ले एक अनुभवी र कर्मशील सञ्चारकर्मी गुमाएको छ।










Discussion about this post