धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण सुरु गरेको छ। उपाधि जितेको खुसी समर्थकसँग साट्न तथा प्रदेशभर क्रिकेटको उत्साह थप बढाउन टोलीले अछामस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वैद्यनाथ धामबाट ट्रफी यात्रा सुरु गरेको हो।
शनिबार बिहान वैद्यनाथ धाममा पूजाआराधना तथा स्वस्तिवाचन गरेपछि ट्रफी यात्राको औपचारिक शुभारम्भ गरिएको थियो। मन्दिरबाट ट्रफीसहित निकालिएको र्याली साँफेबगरसम्म पुगेको थियो।
रोयल्सले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङमा ट्रफी प्रदर्शन गरिनेछ। त्यस्तै, मंसिर १८ गते डडेल्धुरास्थित परशुराम धाममा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने र्याली चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधाराचाँदनी पुलसम्म ट्रफीसहित र्याली निकालिनेछ।
ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी यात्रा समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ।
उपाधि जितेपछि ट्रफीसहित प्रदेशका नौवटै जिल्लामा पुग्ने रोयल्सको अभियानले समर्थकसँगको सम्बन्ध थप बलियो बनाउनुका साथै सुदूरपश्चिममा क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।










Discussion about this post