काठमाडौं । नेपाल–चीन उत्तरी मुस्ताङस्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको चार वर्ष पुग्न लाग्दासमेत निर्माण कार्य सुरु हुन सकेको छैन।
सरकारले २०७९ साल फागुनमा कोरला नाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह तथा एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले डीपीआर सर्भे गरेको थियो। तर, प्रतिवेदन तयार भई सरकारलाई बुझाइएको लामो समय बितिसक्दा पनि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन।
यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारको नाममा प्राप्ति गरिएको थियो। चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो।
सर्भेका क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार आवश्यक संरचना निर्माणका लागि डीपीआर तयार गरिएको थियो।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डीपीआर सर्भेको काम सम्पन्न गरेको थियो।
तर, प्रतिवेदन सरकारलाई बुझाएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताएका छन्।
चीनसँग सीमा जोडिएका नाकामध्ये कोरला महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधारको अभावमा निकासी–पैठारी तथा पारवहन व्यापारलाई व्यवस्थित गर्न कठिनाइ भइरहेको अध्यक्ष विष्टको भनाइ छ।
उपल्लो मुस्ताङका नागरिकका लागि कोरला नाका खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष मात्रै यस नाकाबाट ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।
व्यापारिक सम्भावना उच्च रहेको नाकामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा यसको पूर्ण उपयोगमा चुनौती थपिएको छ।










Discussion about this post