काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्बाट सिफारिस गरिएका अध्यादेश जारी हुन ढिलाइ भएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले अध्यादेश जारी हुन नसकेको विषयलाई कूटनीतिक ढंगले उठाएका हुन्। भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिनपछि राष्ट्रपति पौडेलसँग भेट गरेका उनले भ्रमणका उपलब्धि तथा द्विपक्षीय भेटवार्ताबारे पनि जानकारी गराएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा समसामयिक राजनीति, सरकारका कामकारबाही र विभिन्न राष्ट्रिय विषयमा सौहार्दपूर्ण छलफल भएको थियो।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार भेटवार्तामा मन्त्रिपरिषद्बाट सिफारिस गरिएका तीनवटा अध्यादेश जारी नभएको विषयमा प्रधानमन्त्री शाहले चासो व्यक्त गरेका थिए।
गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यस्तै, मंसिर ४ गते जेन–जी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठन गर्ने अध्यादेश सिफारिस गरिएको थियो।
संविधानको धारा ११४ अनुसार संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।
यसैबीच, नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको छ। महासंघले उक्त अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै विरोध जनाउँदै आएको छ।
महासंघले मंसिर १३ देखि २० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने तयारी गरेको छ। उक्त अवधिमा माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासचिव रामप्रसाद दाहालले चेतावनी दिएका छन्।
चार अध्यादेश भए निष्क्रिय
गत चैत १३ गते सरकार गठन भएयता मन्त्रिपरिषद्ले सिफारिस गरेका चारवटा अध्यादेश निष्क्रिय भएका छन्। गत वैशाखमा सिफारिस गरिएका आठ अध्यादेशमध्ये चारवटा निष्क्रिय भएका हुन्।
निष्क्रिय भएका अध्यादेशमा केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश रहेका छन्।
राष्ट्रपतिसँग लामिछानेको पनि भेट
प्रधानमन्त्री शाहले भेट गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।
लामिछानेको सचिवालयका अनुसार भेटमा सरकारका कामकारबाही, मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
सरकारले मंसिर तेस्रो साताभित्र संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। संसद् अधिवेशन बोलाउने विषयमा पनि राष्ट्रपति, प्रधानमन्त्री र रास्वपा सभापतिबीच छलफल भएको स्रोतले जनाएको छ।










Discussion about this post