काठमाडौं । सरकारले सडक दुर्घटना तथा प्राकृतिक विपद्मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने योजना अघि सारेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आवश्यक उपकरण, दक्ष जनशक्ति र विशेषज्ञ चिकित्सकसहित ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो।
उहाँका अनुसार यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुनेछ भने बिरामीको रिफरल प्रणाली पनि व्यवस्थित हुनेछ।
मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक सेवा विस्तार गरिएको जानकारी दिनुभयो।
उहाँले देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघ र सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र २४ सै घण्टा सञ्चालनमा रहेको पनि बताउनुभयो।










Discussion about this post