काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा बढ्दो लगानीको प्रतिफल र सम्भावित जोखिमबारे लगानीकर्ताको चिन्ता बढेपछि विश्व शेयर बजार प्रभावित भएको छ।
अमेरिकी बजारमा एआईसम्बन्धी कम्पनीका शेयरमा बिक्री चाप बढेसँगै एसियाली शेयर बजारमा पनि ठूलो गिरावट आएको छ। लगानीकर्ताको अनिश्चितताका कारण अधिकांश प्रमुख बजारका परिसूचक ओरालो लागेका छन्।
एसियाली बजारमध्ये ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ। एआई चिप निर्माता टीएसएमसीको शेयर मूल्य ३.६ प्रतिशत र मिडियाटेकको १० प्रतिशतले घटेको छ।
त्यस्तै, दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेको छ। सामसङ इलेक्ट्रोनिक्सको शेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको ११.१ प्रतिशतले ओरालो लागेको छ।
जापानको निक्केई २२५ परिसूचक पनि २.८ प्रतिशतले घटेको छ। ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको शेयर मूल्य १४.८ प्रतिशत र सेमिकन्डक्टर निर्माता किओक्सियाको शेयर १४.२ प्रतिशतले घटेको छ।
एआई क्षेत्रमा तीव्र लगानी भइरहे पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताको आशंका बढ्दा प्रविधि कम्पनीका शेयरमा बिक्री चाप परेको विश्लेषण गरिएको छ।










Discussion about this post