अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, युरोपेली सङ्घसहित १४ देश तथा व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ।
बीबीसीका अनुसार नयाँ व्यवस्थाअन्तर्गत चीनबाट आयात हुने वस्तुमा अधिकतम ४० प्रतिशत, भियतनाममा ३५ प्रतिशत तथा अन्य देशका वस्तुमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी महिनादेखि लागू हुने जनाइएको छ।
नयाँ शुल्कबाट चीन, भारत, जापान, दक्षिण कोरिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, सिङ्गापुर, स्विट्जरल्यान्ड, ताइवान र युरोपेली सङ्घ प्रभावित हुनेछन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कले अमेरिकी श्रमिकलाई समान प्रतिस्पर्धाको अवसर दिने दाबी गरेका छन्। तर, अर्थशास्त्रीहरूले यसबाट आयातित वस्तुको मूल्य बढ्ने र त्यसको भार उपभोक्तामा पर्ने चेतावनी दिएका छन्।
यस निर्णयले अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढ्न सक्ने देखिएको छ। युरोपेली आयोगले पनि नयाँ शुल्कप्रति असहमति जनाउँदै यसबारे अध्ययन गर्ने जनाएको छ।
आयोगले यसअघि भएको सहमतिअनुसार अमेरिकी भन्सार शुल्क १५ प्रतिशतमा सीमित हुनुपर्ने बताएको छ।










Discussion about this post