महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लगातार चौथो पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएको छ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी कर दाखिला गरी राजस्व संकलनमा योगदान पुर्याएको भन्दै सोमबार सहकारीलाई सम्मान गरेको हो।
उदयदेव सहकारीले यसअघि पनि दुई पटक सम्मान प्राप्त गरिसकेको थियो। गत वर्षदेखि लगातार सम्मानित हुँदै आएको सहकारीले यस वर्षसमेत सम्मान पाएपछि उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको यो चौथो पटक भएको छ।
आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका उपाध्यक्ष निरञ्जनप्रसाद भट्ट र प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले सम्मानपत्र ग्रहण गरेका थिए।
कार्यालयमा दर्ता रहेका करिब ३३ हजार करदातामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा उदयदेव सहकारीलाई सम्मान गरिएको हो।
सम्मान ग्रहणपछि सहकारीका उपाध्यक्ष भट्टले संस्थाले प्राप्त गरेको सम्मान सम्पूर्ण सदस्य तथा सहकारी परिवारका लागि गौरवको विषय भएको बताए। सुदूरपश्चिम प्रदेशकै ठूला सहकारी संस्थामध्ये आफ्नो पहिचान बनाउन सफल उदयदेव सहकारीमा हाल २७ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन्।

प्रमुख कार्यकारी अधिकृत चन्दले लगातार चौथो पटक उत्कृष्ट करदाता सम्मान प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे। उनले यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई २७ हजारभन्दा बढी शेयर सदस्यको साझा गौरव भएको बताए।
उनले सम्मानको श्रेय सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूलाई दिँदै सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रमुख कर अधिकृत हरि आचार्यलगायत सरकारी अधिकारी तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।










Discussion about this post