महेन्द्रनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (पान) ले कञ्चनपुरको बेदकोट नगरपालिकालाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरेको छ।
जनकपुरधाममा आयोजित संघको तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सुदूरपश्चिम प्रदेशबाट बेदकोट नगरपालिकालाई सम्मान गरिएको हो।
नगरपालिकाका प्रमुख भोजराज बोहराले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार तथा सम्मानपत्र ग्रहण गरेका छन्। सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन जनकपुरधाम पुगेका नगरप्रमुख बोहराले उक्त सम्मान प्राप्त गरेका हुन्।

बोहरा नेतृत्वको स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकता दिँदै माध्यमिक तहमा शिक्षक दरबन्दी अभाव पूर्ति गर्न नगर शिक्षक नियुक्ति, विद्यालयका भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विशेषगरी माध्यमिक तहमा स्वीकृत शिक्षक दरबन्दी अपुग भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट अनुदानमा नगर शिक्षक नियुक्त गरी पठनपाठनलाई सहज बनाउने प्रयास गरेको छ।
पुरस्कार प्राप्त भएपछि नगरप्रमुख बोहराले यस सम्मानलाई सम्पूर्ण नगरवासीको उपलब्धिका रूपमा लिँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने सबैलाई बधाई तथा धन्यवाद दिएका छन्।
पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट सम्मानपत्र ग्रहण गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको उल्लेख गर्दै बोहराले बेदकोटलाई सम्मानका लागि छनोट गर्ने प्रधानाध्यापक संघ नेपालप्रति पनि आभार व्यक्त गरेका छन्।










Discussion about this post