काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको बताएका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा पनि कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विदेश सचिव मिश्रीले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले लिपुलेक नाकामार्फत हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिबारे प्रधानमन्त्री शाहले कुरा उठाए वा उठाएनन् भन्ने प्रश्न गरेका थिए। जवाफमा मिश्रीले भ्रमणका क्रममा लिपुलेकको विषयमा दुई देशबीच कुनै छलफल नभएको बताए।
त्यस्तै, ईपीजी प्रतिवेदनबारे बोल्दै उनले उक्त विषय विगतको भइसकेको र यसको सान्दर्भिकता समाप्त भएको टिप्पणी गरे।
सीमा व्यवस्थापनका लागि नेपाल र भारतबीच विभिन्न तहका संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै उनले फिल्ड सर्वेक्षण टोली, वरिष्ठ अधिकारीहरूको समिति र सीमा कार्यदलले काम गरिरहेको जानकारी दिए।
नेपाल र भारतबीचको सम्बन्धका विभिन्न पक्षमा सुझाव दिन सन् २०१६ मा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरिएको थियो। समूहले सन् २०१८ मा आफ्नो प्रतिवेदन तयार पारेको थियो।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहित दुई देशबीचका विभिन्न विषयमा सुझाव समेटिएको उक्त प्रतिवेदन हालसम्म दुवै देशका सरकारलाई औपचारिक रूपमा हस्तान्तरण हुन सकेको छैन।










Discussion about this post