काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज बिहान ११ः१५ बजे मोदीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
करिब एक घण्टा चल्ने भेटवार्तापछि दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय छलफल हुनेछ। छलफलका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षसँगै आर्थिक सहकार्य, पूर्वाधार विकास, ऊर्जा, व्यापार तथा कनेक्टिभिटीका विषय प्राथमिकतामा रहनेछन्। त्यसक्रममा नेपाल र भारतबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री शाहले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्दै आर्थिक सहकार्यलाई प्राथमिकता दिएका छन्। विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट तथा स्टार्टअप क्षेत्र नेपालको प्राथमिकतामा रहेका छन्।
भ्रमणका क्रममा नेपाल–भारत सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा मानव संशाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
मोदीसँगको भेटअघि प्रधानमन्त्री शाहले आज बिहान राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गर्ने कार्यक्रम छ। त्यसपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किनेछन्।
यसअघि आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले स्वागत गरेका थिए।
विमानस्थलबाट होटल ताज पुगेका प्रधानमन्त्री शाहले केही समय आराम गरेपछि आइतबार साँझ ६ः१५ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारतले नेपालसँगको विशेष मित्रताको कदर गर्ने बताएका छन्। साथै, उनले प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हुने भेटवार्ताको प्रतीक्षामा रहेको बताएका छन्।










Discussion about this post