काठमाडौं । छक्का–चौकाको वर्षा, रोमाञ्चक प्रतिस्पर्धा र दर्शकको उत्साहपूर्ण साथका बीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सम्पन्न भएको छ। गएको कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।
तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।
यसअघिका दुई संस्करणमा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै नयाँ इतिहास रचेको छ। लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको लुम्बिनीको प्रयास भने यसपटक सफल हुन सकेन।
फाइनलमा सुदूरपश्चिमको जितका नायक जर्ज मन्सी बने। उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रनको विस्फोटक पारी खेले। उनलाई साथ दिएका विनोद भण्डारीले अविजित ३० रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिमले उक्त लक्ष्य कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गरेको थियो।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो। यस संस्करणमा खेलको रोमाञ्चक प्रतिस्पर्धासँगै प्रविधिको प्रयोग पनि चर्चाको विषय बन्यो। पहिलोपटक अम्पायरको निर्णय पुनरावलोकन गर्ने प्रविधि अर्थात् डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो। यसले खेललाई थप निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुर्याएको थियो।
त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित विदेशी खेलाडीहरूको सहभागिताले पनि प्रतियोगिताको आकर्षण बढाएको थियो। डेभिड मिलर, डेभिड वार्नर र आन्द्रे रसेललगायतका खेलाडीको उपस्थितिले नेपाली क्रिकेटप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको प्रदर्शन नजिकबाट हेर्ने अवसर प्रदान गर्यो।
समग्रमा दर्शकको उल्लेख्य उपस्थिति, विदेशी खेलाडीको आकर्षण, रोमाञ्चक खेल र नयाँ प्रविधिको प्रयोगले एनपीएलको तेस्रो संस्करणलाई विशेष बनाएको छ। सुदूरपश्चिम रोयल्सको ऐतिहासिक उपाधिसँगै यस संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ।










Discussion about this post