काठमाडौं । जलवायु परिवर्तन, अत्यधिक गर्मी र वन विनाशका कारण चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढ्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले चमेराको प्राकृतिक वासस्थान र आहारमा परिवर्तन ल्याइरहेको छ। यसले चमेरा, मानिस र घरपालुवा जनावरबीचको सम्पर्क बढाउने जोखिमसमेत सिर्जना गरेको छ।
चिकित्सा जर्नल ‘द बीएमजे’ मा प्रकाशित समीक्षात्मक अध्ययनमा इबोला, मारबर्ग, निपाह, हेन्द्रा र अस्ट्रेलियन ब्याट लाइसा भाइरसजस्ता चमेराबाट सर्न सक्ने खतरनाक रोगको संक्रमण, रोकथाम तथा व्यवस्थापनबारे विश्लेषण गरिएको छ।
अध्ययनकी प्रमुख लेखक जेसिका स्ट्यानहोपका अनुसार जलवायु परिवर्तन र वासस्थान विनाशले चमेराको प्राकृतिक जीवनमा दबाब बढाएको छ। यसले उनीहरूलाई सीमित क्षेत्रमा बस्न बाध्य पार्नुका साथै मानिससँगको सम्पर्क बढाउन सक्ने अवस्था सिर्जना गरेको छ।
अनुसन्धानकर्ताले शहरी क्षेत्रमा रूख कटान र कृषि विस्तारले चमेरा, मानिस तथा पशुधनबीचको सम्पर्क बढाउन सक्ने चेतावनी दिएका छन्। अत्यधिक गर्मीले चमेराको स्वास्थ्यमा असर पार्नुका साथै भाइरसको जोखिमसमेत बढाउन सक्ने अध्ययनमा उल्लेख छ।
सम्भावित महामारीको जोखिम कम गर्न चमेराको प्राकृतिक वासस्थान संरक्षण र पुनःस्थापना, संक्रमित जनावरसँगको सम्पर्क न्यूनीकरण तथा प्रभावकारी खोप र उपचारको विकासमा जोड दिन अध्ययनले सुझाव दिएको छ।










Discussion about this post