विभिन्न राजनीतिक दलका नेताहरूले सबै पक्षको सहमतिमा शान्ति प्रक्रियाका बाँकी कामलाई शीघ्र टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।
विस्तृत शान्ति सम्झौताका विषयमा शनिबार आयोजित सम्मेलनमा नेताहरूले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको विषय बनाउन नहुने भन्दै आपसी सहमति र समझदारीका आधारमा बाँकी काम पूरा गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा नेकपाका नेता देव गुरुङले विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन हुँदै संविधान निर्माण भए पनि अहिले संविधान नै ‘कोमा’ मा पुगेको टिप्पणी गरे। उनले जेनजी आन्दोलनपछि बृहत् शान्ति सम्झौतालाई खारेज गर्ने प्रयास भइरहेको भन्दै सम्झौतालाई सही मार्गमा ल्याउन र सहमतिमा फर्काउन राजनीतिक दलहरूबीच समझदारी आवश्यक रहेको बताए।
त्यस्तै, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रिया विगतको बोझ नभई राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको र अन्तर्राष्ट्रिय समुदाय साक्षी बसेको आधिकारिक दस्तावेज भएको बताए। यसलाई इतिहासको बोझका रूपमा लिन नहुने उल्लेख गर्दै उनले यसबाट कोही पनि उम्किन नसक्ने धारणा राखे। साथै, उनले नयाँ सरकारलाई यथाशीघ्र सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न आग्रह गरे।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले शान्ति प्रक्रियाका बाँकी काम नेपाली समाजको विशिष्ट अवस्थाअनुसार निष्कर्षमा पुर्याउनुपर्ने बताइन्। शान्ति प्रक्रिया आफैँमा सकारात्मक उपलब्धि भएको र यसले मुलुकको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले यसको सम्मान र उचित सम्बोधन हुनुपर्ने धारणा राखिन्।
उनले शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर सरकारले आयोग गठन गर्न तयार छ कि छैन भन्ने विषय अहिले मुख्य प्रश्न रहेको बताइन्।










Discussion about this post